नेपाल टेलिकमको १० लाख रुपैयाँको रिचार्ज कार्ड हरायो

काठमाडौं, २४ साउन। नेपाल टेलिकमको ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ ।

काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले जनाएको छ ।

निर्देशनालयले आज सार्वजनिक सूचना जारी गरी ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक वा ग्राहकलाई अनुरोध गरेको छ ।

निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको हो। ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि निर्देशनालयले अनुरोध गरेको छ ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले करिब दुई हप्ता अगाडि एक ट्रान्सपोर्ट कम्पनीमार्फत् रिचार्ज कार्ड ढुवानी गर्दा हराएको र खोजी जारी रहेको जानकारी दिए ।

प्रवक्ता अधिकारीका अनुसार रिचार्ज कार्डहरुलाई नेपाल टेलिकमको कम्प्युटर सिस्टममा इन्ट्री नगरेसम्म त्यसबाट मोबाइल ब्यालेन्स रकम रिचार्ज हुँदैन । ती हराएका रिचार्ज कार्डहरु कम्प्युटर सिस्टममा इन्ट्री नभएकाले तीबाट रिचार्ज हुँदैन ।

तर कसैले रिचार्ज कार्ड भनेर बेच्यो र कुनै ग्राहकले प्रयोग गर्यो भने ऊ ठगिन सक्छ । त्यसैले ती सिरियल नम्बर भएका रिचार्ज कार्ड बिक्री वितरण नगर्न र भेटाएमा दुरसञ्चार कार्यालयमा फिर्ता गर्न भनिएको प्रवक्ता अधिकारीले बताए ।

‘हाम्रो सिस्टममा इन्ट्री नै नभएकाले ती रिचार्ज कार्ड कागजको खोस्टा बराबर हुन्,’ उनले भने, ‘त्यसबाट ग्राहकहरु नठगिउन् भनेर प्रयोग नगर्न भनिएको हो ।’

प्रतिक्रिया दिनुहोस्