राजेन्द्र लिङदेनको प्रश्न– तीन दलको निर्णयमा हामी लुरुलुरु पछि लाग्नुपर्ने ?

काठमाडौं, साउन २३ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले देश र अर्थतन्त्र ध्वस्त हुँदा पनि प्रमुख दलबीच भागबन्डा मिलिरहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङदेनले अरुलाई निषेध गरेर तीन दल मात्रै भागबन्डा गरेर निषेधको राजनीति नगर्न चेतावनी दिएका हुन् ।

‘तीन दलको निर्णयमा हामी लुरुलुरु पछि लाग्नुपर्ने ? गैरसंवैधानिक काम कसरी भइरहेको छ भन्ने यो उदाहरण हो । तीन दलको नेता बस्ने भागबन्डा मिलाउने भएको छ । संसदीय समितिको निर्माण कसरी गर्ने भनेर नियमावलीमा उल्लेख । तर यो तीन दलले मिलाउने हो ?’ उनले भने, ‘कसैलाई पनि निषेध गरेर जाने कसैले कल्पना नगरौं । जनमतको चाहना पनि यो होइन ।’

अर्थतन्त्र डामाडोल हुने र नागरिकले थुप्रै समस्या भोगिरहँदा पनि सरकार जिम्मेवार नभएको उनले बताए ।

‘एक वर्षमा कति व्यवसायीले आत्महत्या गर्नुपर्‍यो । सहकारीमा वचत गर्नेको र सहकारी सञ्चालन गर्नेको अवस्था के छ ? अर्थतन्त्र कमजोर छ । निजी क्षेत्र ध्वस्त छ । सबै उद्योगी व्यवसायी घाटामा छन् तर, बैंकको नाफा बढेका बढ्यौं छ’ उनले भने, ‘अघिल्लो आर्थिक वर्षमा ५६ अर्ब कमाएका बैंकले ७० अर्ब नाफा कमाएछन् । तर अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने नीति छैन । निर्माण व्यवसायलई सरकारले भुक्तानी दिन सकेको छैन । तर भागबन्डाको कुरा भने मिलिरहेको छ । जनताको विषय उपेक्षामा परेको छ ।’

सुनकाण्डमाथि गम्भीर प्रश्न उठेको भन्दै उनले भरपर्दो संसदीय छानबिन समिति गठन ग गर्न माग गरे ।

 

प्रतिक्रिया दिनुहोस्