महापण्डित मरासिनीको १४१ जन्मजयन्तीमा स्रष्टालाई पुरस्कार प्रदान

काठमाडौँ, २१ साउन। महापण्डित दधिराम मरासिनीको १४१ जन्मजयन्तीको अवसरमा आज पत्रकार तथा स्रष्टालाई पुरस्कार प्रदान गरिएको छ।

दधिराम मरासिनी स्मृति प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा वरिष्ठ साहित्यकार मीनप्रसाद गौतम, वरिष्ठ पत्रकार अर्जुन ज्ञवाली र कवि कुलचन्द्र मरासिनीलाई जनही रु दश हजार सहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले उहाँहरूलाई सम्मान गर्दै मुलुकमा सुशासन कायम राख्न तथा जनताको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि स्रष्टाले गरेका सृजना सशक्त हुने बताउनुभयो।
सामाजिक सेवाका माध्यमबाट राष्ट्र निर्माणमा योगदान गरेका अग्रज व्यक्तित्वलाई सम्मान गर्ने परम्पराले नयाँ पुस्तालाई पूराना अनुभव र थप ज्ञान प्राप्त हुने उहाँले बताउनुभयो।

पुरस्कृत व्यक्तित्वबाट वरिष्ठ साहित्यकार गौतमले संस्कृत व्याकरणको गहन अध्ययनबाट नेपाली साहित्यलाई समृद्ध बनाउन सकिने बताउँदै नयाँ पुस्तालाई संस्कृत भाषा सिकाउन पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले आफू करिब तीन दशक राष्ट्रसेवाबाट निवृत्त भएपछि आत्मा दर्शन, रामगीता, तीर्थ दर्शन, सर्वधर्म आदि आध्यात्मिक कृतिको रचना गरेको जानकारी दिनुभयो।

वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले सो पुरस्कारबाट सम्मानित हुन पाएकोमा गर्वको अनुभूति गर्नुभयो।कवि कुलचन्द्र मरासिनीले उक्त सम्मानले यस क्षेत्रमा थप कृयाशिल रहन उर्जा मिलेको वताउनुभयो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सन्जय गौतमले प्रतिष्ठानले अग्रज स्रष्टालाई सम्मान गर्ने परम्परा बसालेकामा त्यसको सराहना गर्नुभयो।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री ढुण्डिराज शास्त्रीले लेख्नुभएको मेरो जीवन र अनुभुति कृति विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्