सुनकाण्ड चलिरहेको बेला अर्को काण्ड आउँछ, हेर्नुहोला : शेखर कोइराला

काठमाडौं, साउन १८ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको र अराजकतातर्फ गएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचारले देशलाई गाँजेको उल्लेख गरे ।

“देश अत्यन्तै अप्ठ्यारो र अराजकतामा गएको लाग्छ । भ्रष्टाचारले देश गाँजेको छ । दण्डहीनता, मान्छे मारेको छ, राजनीतिक लेप लगाइदिएपछि त्यो छुट्छ,” उनले भने, “यो ठिक ठाउँमा नराखे देश अराजकतामा जान्छ ।”

उनले भ्रष्टाचारका एकपछि अर्को काण्ड बाहिरिएको भन्दै चिन्ता व्यक्त गरे । ‘ठूला मान्छे’ मुछिएपछि भ्रष्टाचारकाण्डको छानबिन बीचमै रोकिने गरेको उनको भनाइ छ ।

“एकपछि अर्को इस्यु आउँछ । भुटानी शरणार्थी आएको थियो, अघि बढ्यो अनि रोकियो । ललितानिवासमा पनि त्यस्तै,” उनले भने, “किन रोकिन्छ भने माथि कोही ठूलो पर्छ, रोकिन्छ ।”

अहिले चर्चामा रहेको करिब क्विन्टल सुन तस्करी प्रकरण पनि त्यसै सामसुम हुने उनले जिकिर गरे । “सुनकाण्ड आयो, यो पनि सामसुम हुन्छ । किनभने, कोही न कोही इन्भल्भ हुन्छ,” उनले भने, “योबीचमा कति गयो होला ? यसले नेपालको सुरक्षा नाजुक छ भन्ने देखायो । यो काण्ड चलिरहेको बेला अर्को काण्ड आउँछ, हेर्नुहोला । किन यस्तो ? माथिको मान्छे परेर हो ।”

सुनकाण्डको छानबिन राजस्व अनुसन्धान विभागले मात्र गरिरहेकामा पनि उनले असन्तुष्टि जनाए । “सुनकाण्डमा राजस्व अनुसन्धान मात्र इनभल्भ छ, सीआईबी छैन, यो अचम्म छ,” उनले भने, “राजस्व पहिले अर्थमा हुन्थ्यो, ओलीले प्रमअन्तर्गत ल्याउनुभयो । शेरबहादुरजीले फर्काउनुपर्छ भन्नुभएको थियो, तर गर्नु भएन । अहिले प्रमले फर्काउनु भएन, अब आफैँ बुझ्नुस् । सोच्दै जाऊँ, कहाँ पुग्छ ।”

प्रतिक्रिया दिनुहोस्