संवैधानिक परिषद्को बैठक बस्दै : को–को छन् प्रधानन्यायाधीश सिफारिस सूचीमा ?
काठमाडौं । संवैधानिक परिषद्को बैठक आज (बिहीबार) बस्दैछ । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न आज साँझ ५ बजे बैठक बस्न लागेको हो ।
यसअघि गत मंगलबार बसेको परिषद्को बैठक बिना निष्कर्ष टुङ्गिएको थियो । उक्त बैठकमा भावी प्रधानन्यायाधीशमा कसैको पनि नाम लिइएको थिएन । बैठकमा संवैधानिक पदहरूमा भागबण्डाको आधारमा नियुक्ति गर्नुपर्ने प्रस्ताव प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राखेका थिए ।
न्यायपरिषद् सचिवालयले न्यायाधीशहरूको नाम संवैधानिक परिषद्को सचिवालयमा पठाइसकेको छ । सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएको व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने संवैधानिक व्यवस्था छ ।
सूचीमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुँयाल र मनोजकुमार शर्माको नाम छ । साउन २० गतेदेखि प्रधानन्यायाधीश पद रिक्त हुँदैछ । उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जाने भएकाले न्यायालय फेरि कायममुकायमले चलाउने अवस्था बनेको छ ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेपछि पनि संसदीय सुनुवाइको प्रक्रियासहित नियुक्त हुन समय लाग्नेछ । त्यसैले न्यायपालिकाको नेतृत्व फेरि कामु हुने निश्चित भएको छ । यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म कामुको नेतृत्वमा न्यायपालिका चलेको थियो ।















प्रतिक्रिया दिनुहोस्