नक्कली शरणार्थी प्रकरण: थुनामुक्त माग गर्दै बालकृष्ण र टोपबहादुरसहित उच्च अदालत पुगे
काठमाडौं, साउन १६ । नक्कली शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटनमा रिट परेको छ।
तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, यो प्रकरणका विचौलिया केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु उच्च अदालत पुगेका हुन्।
उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले थुनामा पुगेका प्रतिवादीहरुले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध केही दिनअघि नै रिट निवेदन दिएको बताए।
कट्टेलले उनीहरुको रिट निवेदनमाथि अब एक सातापछि पेसी तोकिने नेपालखबरलाई बताएका छन्।
यो प्रकरणमा सुरुमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले गत असार १ गते थुनामा पठाउने आदेश दिएका थिए।
तर यो मुद्दामा त्यसबेला ललितपुरकी लक्ष्मी महर्जन ५ लाख र होटल व्यवसायी टंक गुरुङ १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। बाँकी १६ जनालाई केन्द्री कारागार सुन्धारामा चलान गरिएको छ।
त्यसपछि यही प्रकरणमा पक्राउ परेका अभियुक्त केशव तुलाधर असार ३१ गते १५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई असार २८ गते पक्राउ गरेको थियो। जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलाशले थुनछेक बहसपछि उनीसँग १५ लाख धरौटी माग्ने आदेश दिएको थियो।
तुलाधर न्युरोडको देगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत थिए। उक्त मुद्दाका प्रमुख अभियुक्तमध्ये एक सन्देश शर्मालाई उनले आर्थिक कारोबारमा सघाएका खुलेको थियो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको संगठित ठगी प्रकराण्मा गत १० जेठमा जिल्ला सरकारी वकिल कार्यालयले भीआईपीहरुसहित ३० जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो। यो प्रकरणमा मुद्दा दायर गरेकामध्ये ११ जना अझै फरार छन्।















प्रतिक्रिया दिनुहोस्