पदाधिकारी बैठकमा वर्षमानले भनेः सुन तस्करीको छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाऔं

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा विशेष समय लिएर बोल्दै पुनले भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई उन्मुक्ति हुन नहुने बताए। सरकारको भ्रष्टाचारविरोधी अभियान सही रहेको भन्दै उनले त्यसमा पार्टी पंक्तिको साथ र सहयोग रहेको उल्लेख गरे। पुनले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बतीमुलका बेल्जियन नागरिक दावा छिरिङसँग कुनै सम्बन्ध नरहेको बताए।

सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितताविरोधी अभियानलाई अन्यत्रै मोड्ने नियोजित चलखेलका रुपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको टिप्पणी उनले गरे।

पुनले सुन तस्करी प्रकरणलाई लिएर कतिपयले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको तथा उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम मुछ्ने प्रयास भएको भन्दै सत्यतथ्य छानबिनको माग गरे । उनले छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको र अरु नेता पनि तयार हुनुपर्ने बताए । त्यस प्रकरणमा नाम आएका सबैबारे छानबिन गर्न प्रहरीको अपराध अनुसन्धानमा विज्ञ टोली, संसदीय समिति वा विशेष समिति बनाउन माग गरे।

प्रतिक्रिया दिनुहोस्