साल्ट ट्रेडिङ्गले बालबालिकाको हितमा काम गरेकालाई पुरस्कार दिने
काठमाडौं, साउन १४ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले बालबालिकाको हितमा काम गर्नेलाई पुरस्कार दिने भएको छ ।
कर्पोरेशनको वार्षिकोत्सवको अवसरमा ‘बाल हितकारी पुरस्कार’ वितरण गर्न लागिएको हो । बालबालिकाहरुको शैक्षिक, मनोवैज्ञानिक, शारीरिक, भौतिक अभिवृद्धि एवं नैतिक तथा चारित्रिक विकासमा उत्कृष्ट योगदान दिने व्यक्ति वा संस्थालाई पुरस्कार दिइने कर्पोरेशनले जनाएको छ ।
कर्पोरेशनले यसका लागि आवेदन आह्वानसमेत गरेको छ । बालबालिकाको स्वास्थ्य, शिक्षा, बालमनोविज्ञानजस्ता क्षेत्रमा प्रत्यक्ष रुपमा सेवा गरेका वा फरक किसिमका सक्षमता भएका असहाय बालबालिकाको शैक्षिक एवं मानसिक हितमा काम गरेकाले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, असहाय बालबालिकाको भरण पोषणमा निरन्तर ५ वर्षदेखि काम गरिरहेका र बालबालिकाको हकअधिकारको विषयमा जनचेतना जगाउन व्यवहारिक र प्रभावकारी ढंगले काम गर्दै आएकाले आवेदन दिन सक्ने कर्पोरेशनले जनाएको छ ।
आज सूचना जारी गर्दै कर्पोरेशनले केन्द्रीय कार्यालय, काठमाडौं तथा प्रदेश कार्यालय, विराटनगर, वीरगञ्ज, भैरहवा, पोखरा, धनगढी, नेपालगञ्जमा आफ्नो वा संस्थाको नाम दर्ता गर्न सुसूचित गराएको छ ।
साउन मसान्तपछि दर्ता भएका आवेदनलाई मान्यता नदिइने स्पष्ट पारिएको छ । कर्पोरेशनका अनुसार आवेदन परेकामध्ये उपयुक्त देखिएकालाई छनौट गरेर उक्त पुरस्कार दिइने छ ।
प्रतिक्रिया दिनुहोस्