नगरपालिकाका निमित्त प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, साउन ११ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर गरेको छ।

आयोगले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट,इन्जिनियर सन्तोष पाण्डे,तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी,सब इन्जिनियर दिपक सिंह बिष्ट र सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी,सचिव धनन्जय जोशी र कोषाध्यक्ष जानकी बडू जोशीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले शैल्यशिखर वडा नम्बर ६ को पनेबाजा मौरीभिटादेखि वडा नम्बर ७ र ८ को बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत इष्टिमेटमा कडा चट्टानको भाग बढि देखाइ वास्तविकभन्दा बढि भुक्तानी लिएको अख्तियारको ठहर छ।

अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ बमोजिम २६ लाख २ हजार ५५६ रुपैयाँ बिगो माग दावी गरेको छ।

इन्जिनियर पाण्डेले पनेबाजा बन्तोली बगौरा सडक खन्ने कार्यमा अस्वभाविक रुपमा बढी मूल्यांकन गरी नापी किताबमा चढाइ हस्ताक्षर सहित सहमति जनाइ निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिणामको झुट्टा बिल भरपाइ गरी ११ लाख ३० हजार २७२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सोही रकम बराबरको बिगो र सजाय माग गरेको अख्तियारले जनाएको छ।

यस्तै तत्कालीन इन्जिनियर धामीले सोही सडक खन्ने कार्यमा अस्वभाविक रुपमा झुट्टा बिल भरपाइ तथा कार्यसम्पन्न प्रतिवेदन बनाइ १४ लाख ७२ हजार २८३ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

सब-इन्जिनियर विष्टले सडक खन्ने क्रममा झुट्टा बिल बनाइ २६ लाख २ हजार ५५६ रुपैयाँ भुक्तानी लिएको ठहर गर्दै अख्तियारले सोही रकम बमोजिम विगो माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्