च्याम्पियन्स लिगमा रियल र टोटनह्यामको खेल बराबरीमा रोकियो

एजेन्सी . च्याम्पियन्स लिगको समूह एच अन्तर्गत साविक विजेता रियल म्याड्रिडले टोटनह्याम विरुद्ध १–१ को बराबरी खेलेको छ । रियलका लागि क्रिस्टियानो रोनाल्डोले गोल गरे भने रियलका डिफेन्डर राफायल भरानले एक आत्मघाती गोल गरेका थिए ।

खेलको पाँचौं मिनेटमै रोनाल्डोको रि–बाउन्ड सदुपयोग गर्न नसक्दा करिम बेन्जिमा रियल म्याड्रिडलाई खेलमा अग्रता दिलाउन चुके । ह्यारी केनको १९ औं मिनेटको हेडर पनि रियलका गोलकिपर किको क्यासिल्लाले राम्रो बचाऊ गरेका थिए । तर आफ्नो दोस्रो राम्रो अवसरमा भने टोटनह्याम नचुकी अग्रता लिन सफल भएको थियो ।

२८ औं मिनेटमा डिफेन्डर सर्ज अरियरले ह्यारी केनलाई दिएको पोस्ट अगाडिकै पास भरानलाई लागेर गोल भएको थियो । त्यसको जवाफमा पहिलो हाफको अन्तिम मिनेटमा अरियरले मिडफिल्डर टोनी क्रुजलाई लडाउँदा पाएको पेनाल्टिलाई रोनाल्डोले बलियो प्रहार मार्फत गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफमा केनले भ्रमणकारी टोलीलाई जित दिलाउने मौका पाए पनि उनको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । रियल पनि खेलभरि आक्रामक नै देखिएको थियो तर टोटनह्यामका गोलकिपर हुगो लोरिसले रोनाल्डोका केहि प्रहारहरुको शानदार बचाऊ गर्दै आफ्नो टोलीलाई खेलमा टिकाइराखेका थिए ।

यस बराबरीसँगै रियल र टोटनह्यामको तीन खेल पश्चात समूह एचमा समान ७ अंक रहेको छ । समूहको अन्य खेलमा बोरुसिया डर्टमन्ड र एपोएल निकोसियाले १M१ को बराबरी खेल्दा रियल र टोटनह्यामलाई फाइदा नै भएको छ ।

प्रतिक्रिया दिनुहोस्