पोखरेललाई हटाएर पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी

काठमाडौं, साउन ९ । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुखमा टोकराज पाण्डेलाई नियुक्त गरेको छ । निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डे गत बिहीबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

उनै पाण्डेलाई अर्थमन्त्री डा. प्रकाश शरण महतले त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख अरुण पोखरेल गत गत असार १७ गतेदेखि बिरामी बिदामा छन् ।

बिदामा रहेर हाल स्वास्थ्योपचारका क्रममा रहेका पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँच पास भइसकेर १०० केजी सुन भित्रिँदा भन्सार प्रमुख पोखरेल बिदामा थिए ।

पोखरेल दुई महिने बिदामा हुँदा उनको स्थानमा अन्य नियुक्त भएको थियो । निमित्तका रुपमा नारद गौतमले विमानस्थल भन्सारको नेतृत्व गरिरहहेका थिए । यसअघिका प्रमुख पोखरेलले असार १७ गतेदेखि बिदा लिएर भदौ १७ गते सम्मलाई स्वीकृत गराएका थिए ।

भन्सार विभागका अनुसार ढाडमा समस्या आएको भन्दै उनले बिरामी बिदा लिएका थिए । भन्सार विभागको महानिर्देशक र अर्थमन्त्रीलाई समेत उनले आफ्नो बिदाबारे पहिल्यै जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्