मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य पूरा हुँदैनः अध्यक्ष ढकाल

काठमाडौं, साउन ९ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु आर्थिक वर्षको मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएका छन्।

मंगलबार न्युज एजेन्सी नेपालसँग आईतवार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको विषयमा प्रतिक्रिया दिँदै उनले यस्तो बताए। उनले गत वर्षको मौद्रिक नीतिले लिएको कर्जा बिस्तारको लक्ष्यभन्दा पनि अहिले कम गर्नु राम्रो नभएको बताए।

उनले गत वर्ष १२.५ प्रतिशत कर्जा बिस्तार गर्ने लक्ष्य भन्दा पनि घटेर चालु आर्थिक वर्षमा ११.५ प्रतिशत कर्जा बिस्तार गर्ने लक्ष्यले अर्थतन्त्र चलायमान र ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न नसकिने दाबी गरे।

अध्यक्षले ढकालले निजी क्षेत्रका तीन वटा छाता संस्थाहरु उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रुपमा दिएका सुझावहरुको सम्बोधन नभएको बताए।

उनले निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीतिमा सम्बोधन हुन्छ भन्ने अपेक्षा भएपनि निजी क्षेत्रको अपेक्षा अनुसार मौद्रिक नीति नआएको बताए।

प्रतिक्रिया दिनुहोस्