गृहमन्त्रीको गैरजिम्मेवारीले हद नाघ्यो, सुन तस्करीको पूरा अनुसन्धान नभएसम्म छोड्दैनौँ : ओली

काठमाडौं –  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

कम्बोडियाको भ्रमण गरेर सोमबार राति स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृहमन्त्री गैरजिम्मेवार बनेको आरोप लगाए । उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ/छैन भन्ने प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ बताउनुपर्नेमा उनले जोड दिए ।

उनले ‘विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ कि छैन ?’ भन्दै प्रश्न गरे । गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न उनले गृहमन्त्री श्रेष्ठलाई चेतावनी दिए ।

‘कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भनेर गृह मन्त्रायल मुद्दा हाल्न जानु कति न्यायसंगत हुन्छ ?’ भन्दै पनि उनले प्रश्न गरे ।

एक सञ्चारमाध्यमले उक्त सुन तस्करी प्रकरणको समाचारमा आफ्नो फोटो राखेको भन्दै उनले आपत्ति जनाए । नेपाल च्याम्बर अफ कमर्सको अधिवेशनमा खिचिएको फोटो जोडेर आफ्नो भ्रामक प्रचार गरिएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले सुनकाण्डको सिलसिलाको कारबाही अन्तिमसम्म नपुर्‍याई एमालेले नछोड्ने पनि बताए । सुन बोक्ने भन्दा पनि बोक्न लगाउनेहरुलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने उनले चेतावनी दिए ।

 

प्रतिक्रिया दिनुहोस्