अपराधमा संलग्नहरुलाई प्रमाणले भ्याएसम्म कारबाही हुन्छ: गृहमन्त्री श्रेष्ठ

काठमाडौं, साउन ८ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अनुसन्धानले तथ्य, प्रमाणको आधारमा पुग्नुपर्ने ठाउँसम्म पुगेर कारबाही गर्ने उल्लेख गरे।

मन्त्री श्रेष्ठले राजनीतिक क्षेत्रका नेताहरु दोषी देखिइसकेपछि नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अघि बढाउँदा सोही पार्टीका अन्य नेताहरुले विरोध गर्ने, व्यवसायी, कर्मचारीहरुले पनि आफूलाई कारबाही गर्नु हुँदैन भनेर विरोध गर्ने परम्पराको विकास हुँदै गएको बताए।

उनले सरकार कुनैपनि हालतमा अपराधीलाई छुट दिने पक्षमा नरहेको र प्रमाणसँगै सबै दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाए। मन्त्री श्रेष्ठले अपराधमा संलग्नहरुलाई प्रमाणले भ्याएसम्म सबैलाई कारबाही हुने बताए।

मन्त्री श्रेष्ठले धनीलाई एउटा, गरिबलाई अर्को कानुनी कारबाही हुने कुरा सरकारलाई सह्य नरहेको जिकिर गरे ।कानुन सबैका लागि बराबर हुने उनको भनाइ थियो।

 

 

प्रतिक्रिया दिनुहोस्