अनुहार, नाम र पद फेर्दैमा कांग्रेस रूपान्तरण हुँदैन : विमलेन्द्र निधि
काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका पूर्वउपसभापति एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिले पार्टीभित्र रूपान्तरणको मुद्दा उठाइएकामा आपत्ति जनाएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार उनले अनुहार, नाम र पद फेर्दैमा कांग्रेसको रूपान्तरण लक्ष्य पूरा नहुने बताए ।
“अनुहार, नाम, पद फेर्नेले मात्र कांग्रेलाई रूपान्तरण र लक्ष्यमा पुर्याउँदैन । संघीयता छ, तीन तहको सरकार छ । तीनै तहमा गर्नुपर्ने काम धेरै छ, रूपान्तरणका लागि,” उनले भने, “राज्यको पुनर्संरचनापश्चात् संघीयता, लोकतान्त्रिक गणतन्त्र प्रणालीका लागि अझै काम गर्नुपर्नेछ । यसका लागि कांग्रेसलाई तयार पारौँ ।”
उनले पार्टीको नीति महाधिवेशन अहिलेको आवश्यकता भएको बताए । रूपान्तरणको कुरा गरिरहँदा तल्लो तहमा बस्ने मानिसको जीवनस्तर कसरी परिवर्तन हुन्छ, पार्टीको एजेन्डा त्यो हुनुपर्ने उनको भनाइ छ ।
“कांग्रेसभित्रै मात्र कांग्रेसभित्र रूपान्तण हैन । वडा र टोलमा बसोबास गर्ने सबै समुदायका जीवनस्तरमा रूपान्तरण कसरी ल्याउने हो, त्यो एजेन्डामा बहस गरौँ, निर्माण गरौँ । यसले पार्टी रूपान्तरण सहजै हुन्छ । त्यो अत्यन्त जरुरी छ,” उनले भने ।
केन्द्रीय सदस्य निधिले व्यक्ति र नामभन्दा पनि दृष्टिकोणमा परिवर्तन गर्नु आवश्यक रहेको जिकिर गरे ।
“अझै पनि नेपाली कांग्रेसमाथि जनताले भरोसा गर्छन् । पाँच वर्षपछि रूपान्तरणका लागि बहुमत ल्याउने गरी चुनावको तयारी गरौँ । प्रदेशको अधिकार प्रदान गरौँ । संविधान र कानुनमा संशोधन आवश्यक भए गरौँ,” उनले भने ।
यही साउन २ गतेदेखि कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ । केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्