कांग्रेस बैठकमा शंकर भण्डारीले भने–धर्म निरपेक्षता र संघीयताको विकल्प खोज्नुपर्छ
काठमाडौं, साउन ५ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संघीयता र धर्म निरपेक्षताको विकल्प खोज्नुपर्ने माग उठेको छ ।
कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चौथो दिनको बैठकमा बोल्दै संघीयता र धर्म निपरेक्षताको विकल्प खोज्नु पर्ने धारणा राखेका छन् ।
संविधानका तीन विषयमा आफ्नो असहमति रहेको बताउँदै भण्डारीले भने, ‘संघीयतामा राष्ट्रिय सुरक्षाका किसिमले समस्या देखियो । संघीयताको बारेमा अर्को विकल्प खोज्नु पर्दछ । निर्वाचन प्रणालीका बारेमा पुनर्विचार गर्नु पर्दछ ।’
त्यस्तै, उनले पार्टीभित्र समस्या रहेको पनि बताए । ९ सय क्रियाशील सदस्य रहेको क्षेत्रमा सय भोट पनि नआएको उनको भनाइ छ । यसको कारण खोज्नु पर्नेमा उनले जोड दिए । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।
करिब एक वर्षपछि बसेको बैठकको आज चौथो दिन हो । आज पनि विभिन्न केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्