ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ
काठमाडौं, साउन ५ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज (शुक्रबार) पनि सुनुवाइ हुने भएको छ ।
रिटमाथि बहस सकिए आजै फैसला आउने सम्भावना छ । रिटमाथि सोमबारदेखि निरन्तर बहस जारी छ ।
बहस गर्दागर्दै समय अुपग भएपछि रिट सोमबारदेखि निरन्तर हेर्दाहेर्दैमा राखिदै आएको थियो । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको सुनुवाइ भइरहेको हो । असार १५ गतेदेखि रिटमाथि प्रारम्भिक सुनुवाइ सुरु भएको थियो । यसअघि सोमबार, मंगलबार , बुधबार र बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको थियो।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर अनुसन्धान थालेपछि सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।
बिना कारण थुनेको भन्दै पक्राउ परेकाहरूले असार १३ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । यसका साथै सोही प्रकरणमा मुछिएका १७ जनाले दिएको निवेदन र त्यसविरुद्ध सीआईबीले दिएको भ्याकेट निवेदन एकसाथ राखेर सर्वोच्चले सुनुवाइ गरिरहेको छ ।
सोही प्रकरणमा मुछिएका तर सर्वोच्चबाट स्टेअडर लिएका कलाधर देउजा,सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई कागज गराएर छाडिएको थियो । सोही घटनामा पक्राउ परेका १७ जनालाई कीर्ते र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ ।
यसअघि सीआईबीले ३०० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने सुझावसहितको प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएको थियो । तर कार्यालयले प्रमाण नपुगेको भन्दै फाइल फिर्ता गरिदिएको थियो । विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो। सोही प्रकरणमा सीआइबीले अनुसन्धान गरिरहेको छ।















प्रतिक्रिया दिनुहोस्