सेनाको संख्या घटाउने होइन, दुई लाख पुर्याउनुपर्छ : बामदेव गौतम
काठमाडौं, साउन ४ । राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली सेनाको संख्या कुनै पनि हालतमा घटाउन नहुने बताएका छन्।
बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले नेपाल एकीकरणमा सेनाको भूमिका महत्वपूर्ण रहेको भन्दै अपमान हुने काम कसैबाट गर्न नहुने बताए।
‘राज्य शक्तिको नाम हो। सार्वभौमसत्ताको नाम हो। देखिदैन। राज्य हुनुको निम्ति भूमि आवश्यक पर्छ। अधिकार सम्पन्न जनताको आवश्यक पर्छ। स्वतन्त्र सरकारको आवश्यकता पर्छ। सेना आवश्यक छ, ‘उनले भने, ‘सेना भएन भने संयुक्त राष्ट्रसंघले आफ्नो सदस्य बनाउँदैन। यी सबै हिसाबले सेनाको संख्या घटाउनु हुँदैन।’
राज्यका चारवटा अंगमध्ये एउटा मात्रै कमजोर भयो भने दुर्घटना व्यहोर्नुभन्दा अरू केही नहुने उनको भनाइ छ।
गौतमले सेनाको संख्या हाल करिब ९६ हजार रहेको र यसलाई बढाएर दुई लाख पुर्याउनुपर्ने प्रस्ताव अघि सारेका छन्। उनले भने,’ नेपाली सेना अहिले करिब ९६ हजार छ। यसलाई थप गरेर दुई लाख पुर्याउनुपर्छ। घटाउने होइन।’
नेता गौतमले सेनाको संख्या बढाएर देश निर्माणका लागि औद्योगिक र कृषि निर्माणको क्षेत्रमा लगाउनुपर्नेमा जोड दिए। ‘नेपाली सेनाको संख्या दुई लाख पुर्याउनुपर्छ। देश निर्माणमा औगोधिक क्षेत्र र कृषि निर्माणको क्षेत्रमा लगाउँदा सेनाले गरेर देखाउँछ। उसले नेपाल आत्मनिर्भर बनाउने मात्रै होइन विदेश निर्यात गर्नेगरी उत्पादनमा वृद्धि गर्छ।’
नेपाली सेनाले हरेक ठाउँमा आफूलाई ऐतिहासिक रुपमा स्थापित गर्दै आएको उनको भनाइ छ। अप्ठ्यारो पर्दा नेपाल र नेपाली जनताको रक्षाका लागि सेनाको साथ रहेको भन्दै नेता गौतमले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा सेनाको अहम भूमिका रहेको बताए।
उनले सेनाको संख्या घटाएर बचेको पैंसाले देश विकास गर्नुपर्छ भन्नेहरूलाई दोहोर्याएर सेनाको इतिहास पढ्न आग्रह गरे। उनले गौरव गाथा बोकेको सेनाको संख्या घटाउनुपर्छ भन्ने आवाज आउनु आपत्तीजनक भएको बताए।
प्रतिक्रिया दिनुहोस्