हेम बहादुर मल्ल पुरस्कारबाट गोरक्ष बहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्य सम्मानित
काठमाडौं, ३ असार । कुशल प्रशासक हेम बहादुर मल्ल पुरस्कारबाट गोरक्ष बहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्य सम्मानित भएका छन् ।
नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडद्वारा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति रामसाहय प्रसाद यादवले उहाँहरुलाई जनही दुइ लाख रुपैयाँ धनराशिको हेमबहादुर मल्ल पुरस्कार प्रदान गरिएको छ ।
प्रशासन, व्यवस्थापन तथा विविध क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापनबीचको पारस्परिक पेशागत सम्बन्धलाई मर्यादित र सुदृढगर्दै सार्वजनिक क्षेत्रको नीतिनिर्माण तथा मुल्यांकनमा व्यवसायीक पृष्ठपोषण गर्ने उदेश्यले स्थापित हेम बहादुर मल्ल पुरस्कार २०७७ बाट गोरक्ष बहादुर न्हुच्छे प्रधान र २०७८ बाट भानुप्रसाद आचार्यलाई सम्मान गरिएको हो ।
सम्मानित व्यक्तित्व गोरक्ष बहादुर न्हुच्छे प्रधान गोरखा जन्मी काठमाडौंलाई कर्मथलो बनाउनु भएका प्रधान भारत र अन्य मुलुकबाट उच्च शिक्षा प्राप्त गरि वि.स. २०१६ सालमा सरकारी सेवा प्रवेश गरि झण्डै ४ दशक प्रशासन, व्यवस्थापन, प्रशिक्षण र प्रशासन सुधारका क्षेत्रमा समर्पित भई लाग्नुभयो ।
त्यसैगरि भानुप्रसाद आचार्य वि.स. २०३२ सालमा निजामती सेवामा प्रवेश गरि ३ दशक भन्दा बढी सेवामा समर्पित भई विशेष गरि लेखापरिक्षकको प्रमुख भई कार्य कुशलता देखाउनु भएका आचार्य महालेखापरिक्षक र नेपाल सरकारको सचिव समेत काम गर्नु भएको थियो ।
सार्वजनिक प्रशासन र व्यवस्थापन क्षेत्रलाई सुदृढ बनाउन २०४७ सालमा स्थापना भएको नेपाल जनप्रशासन संघले प्रशासन र व्यवस्थापन क्षेत्रमा विशिष्ठ योेगदान गर्ने व्यक्तित्वहरु लाई सम्मान गर्दै आएकोछ ।
वि.स. २०६० सालमा सुरु गरिएको यो पुरस्कारबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोईराला, महाविर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगना, प्रा.डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा.देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ्ग, डा. सन्दुक रुईत, डा. गौरीशंकरलाल दास र सुर्यनाथ उपाध्याय सम्मानित भईसक्नु भएका छन् ।
प्रतिक्रिया दिनुहोस्