कांग्रेसले राष्ट्रपति पाउने भएपछि प्रचण्डलाई विश्वासको मत दिएका थियौँ : उपसभापति खड्का
काठमाडौं, साउन २ । नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएबापत आफ्नो पार्टीले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गरेका छन् ।
आज मङ्गलवारदेखि शुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति खड्काले यस्तो खुलासा गरेका हुन्।
कांग्रेसले राष्ट्रपति पाउने सर्तमा प्रधानमन्त्री प्रचण्डलाई पुस २६ गते विश्वासको मत दिइएको उनको भनाइ थियो ।
उपसभापति खड्काले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रचण्डले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने प्रतिबद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको स्पष्ट पारे ।
कांग्रेसले विश्वासको मत दिएसँगै आफूहरूबीचको गठबन्धन पुनःस्थापित हुने वातावरण बनेको र अहिले कांग्रेस सरकारमा पुगेको उनले उल्लेख गरे ।
उपसभापति खड्काले सरकारले नागरिकलाई उत्साहित र प्रेरित गर्ने खालको काम गर्नुपर्नेमा जोड दिए । उनले नागरिकको अपेक्षा पनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै आफूहरूले अहिलेसम्म कुनै गल्ती र कमजोरी नगरेको जिकिर गरे ।
खड्काले सरकारले गर्नुपर्ने कामको सम्बन्धमा पार्टीको केन्द्रीय समितिले ध्यानाकर्षण, सुझाव तथा निर्देशन दिने विश्वास पनि व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्