नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं, २ असार । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक एक बर्ष पछि आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ । एक बर्ष सम्म बस्न नसकेको बैठक आज बस्न लागेको हो । त्यसका लागी हिजो काँग्रेसले १० वटा एजेन्डा तय गरेको छ । सोमवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले पहिलो एजेन्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताउनुभयो । त्यसैगरी साङ्गठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उहाँले जानकारी दिनुभयो । उहाँले कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुने उल्लेख गर्नुभयो ।

केन्द्रिय समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि रहेको छ । अरू एजेन्डाहरूमा पार्टीले प्रतिनिधि सभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ । केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको महामन्त्री शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्