नेताहरू सुध्रिनु भन्दा गल्ती दोहोर्‍याउँदै जानु दुःखद : डा. भट्टराई

काठमाडौं, साउन १ ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना दलका नेताहरूले सुध्रिनुको सट्टा गल्ती गर्दै जानु दुःखद भएको बताएका छन् । उनले पटक–पटक गरेको गल्तीलाई साथ दिन नसकिने पनि बताए ।

गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङस्थित ज्योती चौतारामा आज (सोमबार) भएको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले ठूला नेता आएर प्रतिनिधित्व गरिसकेपछि तीव्र रूपमा काम होला भन्ने सोचे पनि त्यस्तो हुन नसकेको गुनासो गरे ।

‘हामीले जसलाई अत्यन्त सदभाव राखेर यो ठाउँमा लिएर आएर, जिताएर पठायौँ । उहाँमा ‘जुन हातले खुवायो, त्यही हात टोक्ने’ भन्ने उखानको जस्तो प्रवृत्ति देखियो,’ अध्यक्ष भट्टराईले भने, ‘देश र जनताको यत्रो समस्या छ, पूर्वाधारका काम पूरा गर्न बाँकी छन्, विकासको सपनामा यत्रो आकांक्षा छ, युवाहरू रोजगारीको अभावमा विदेश पलायन भएको भयै छन्, ठूला नेता आएर यहाँ प्रतिनिधित्व गरिसकेपछि काम तीव्रतामा जाला भन्ने अपेक्षा थियो, त्यतापट्टि ध्यान छैन, सत्ता बनाउन र चलाउन, चलखेल गर्न, बिचौलियाको जालमा फस्ने उहाँहरूको संकेत देखिरहेको छु, यो अन्त्यन्त गम्भीर छ ।’

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट प्रतिनिधिसभामा विजयी भएका हुन् । प्रचण्डलाई उम्मेदवार बनाउन र जिताउन भट्टराई आफै खटेका थिए ।

सुशासन र समृद्धिको नेतृत्व गर्ने, हरित विकास, दिगो विकास, समावेशी मोडेल निर्माण गर्ने ढंगबाट सुरुवात गर्न भनेर अघि बढेको उनले बताएका छन् । ‘गोरखामा पनि मिलेर जाने वातावरण बनोस्, तीन पटक जितिसकेपछि पटक–पटक फेरि सत्तामा गइराख्न आवश्यक हुँदैन भनेर स्वेच्छिक ढंगले अरु साथीलाई अवसर दिनुपर्छ भनेर गत वर्षको चुनाव लडिनँ, अर्का एक जना साथीलाई लेराएर जिताएर पठायौँ,’ उनले भने,‘दुःखका साथ के भन्नुपर्छ भने जुन एउटा सपनासहित हामीले सुरुवात गरेका थियौ, देश त्यो दिशातर्फ गइराखेको छैन ।’

राजनीति सेवाको साधन भएको बताउँदै भट्टराईले सत्तामा नभए पनि जनताको सेवा गर्न सकिने बताए । ‘नेताहरू खाली सरकारमा जाने, सांसद हुने, कमिसनखोरबाट पैसा लिने, त्यसलाई कमाएर तिर्दैमा समय जाने, सरकारमा गएर पनि त्यही प्रवृत्ति बढ्यो,’ उनले भने ।

पुराना दलका नेताहरूले सुध्रने भन्दा पनि पटक÷पटक गल्ती दोहो¥याउनु दुःखद भएको पनि उनको भनाइ छ । ‘त्यो बाटोले देशलाई कहीँ पुर्‍याउँदैन, हिजोको गल्ती सच्याएर अघि जाने भनिएको थियो, उहाँहरू जुन गल्ती गरिरहनुभएको छ, गल्ती गर्ने कुरालाई साथ दिन सकिँदैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्