नेपाली भाषालाई स्थापित गर्न भानुभक्तको विशिष्ट योगदानः गृहमन्त्री नारायणकाजी

काठमाडौं, असार २९ ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकता प्रवद्र्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताएका छन्।

आज २१०औं भानु जयन्ती अवसरमा आज नेपाल प्रज्ञाप्रतिष्ठानको सहयोगमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मन्त्री नारायणकाजीले यस्तो बताएका हुन्।

सम्पर्क भाषा बनेको नेपाली भाषालाई घरघरमा स्थापित गराउन भानुभक्तको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ। ‘भानुभक्तले नेपालको सांस्कृतिक एकताको प्रवद्र्धन गर्नुभयो। आज नेपाली मात्र होइन, नेपाली मूलका सबै विदेशी नागरिकले पनि भानुजयन्ती मनाउँछन्। भानुलाई सम्झेर नेपालसँग कुनै न कुनै प्रकारको साइनो, सम्बन्ध र एकताको भाव पैदा हुन्छ। सांस्कृतिक एकताका निम्ति भानुको योगदान अविष्मरणीय छ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्न भानुभक्तबाट पनि प्रेरणा लिनुपर्ने उल्लेख गरे। ‘आदिकवि भानुभक्त आचार्य हाम्रो राष्ट्रिय विभूति हुनुहुन्थ्यो । हामी सबैको हृदयमा भानुभक्त अंकित छन्। भानुभक्तले नेपालीमा रामायण लेख्नुभयो, रामायण सबैको मुखमुखमा पुग्यो। त्यस कारणले पनि हामी उहाँलाई स्मरण गर्छौं’, उनले भने, तर त्यति मात्र होइन। उनले हामी सबैको आज मुख्य सम्पर्क भाषा बनेको, हामी सबैलाई जोड्ने माध्यम बनेको नेपाली भाषालाई स्थापित गर्न र घरघरमा पु¥याउन महत्त्वपूर्ण योगदान दिनुभयो।’

भानुभक्तले न्याय र जीवनको सार्थकताको पक्षमा आवाज उठाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले जीवनको सार्थकता हरेकलाई बोध गराउन तथा न्यायको पक्षमा भूमिका निर्वाह गर्न प्रेरित गरेको स्मरण गरे।

‘आज विश्वका साथै नेपालमा पनि उपभोक्तावाद जबर्जस्त रुपमा अगाडि बढिरहेका बेला यो जीवन केका लागि? धनी भईकन मैले पनि समाजलाई केही गर्न सकिनँ। मेरो जीवनको के काम, एउटा घाँसीले केही गरिराखेको छ, मैले केही गर्न सकिनँ भन्नुभयो’, उनले भन्नुभयो, ‘यो सामान्य घटनाजस्तो लाग्छ। हाम्रो नेपाली समाजलाई चेतनशील बनाउन, जीवनको सार्थकता हरेकलाई बोध गराउन, सामाजिक कर्तव्य निर्वाह गराउन र न्यायको पक्षमा भूमिका निर्वाह गर्न उद्घोष गर्नुभयो।’

प्रतिक्रिया दिनुहोस्