रविकाे चेतावनी : अर्को बैठकमा मिटर ब्याजसम्बन्धी विधेयक नल्याए संसद चल्न दिंदैनौं

काठमाडौं, असार २९ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन चल्न नदिने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको आज (शुक्रबार) को बैठकमा बोल्दै उनले सरकारमै रहेका केही दलको स्वार्थका कारण आज विधेयक नल्याइएको पनि बताए ।

‘यसभन्दा अगाडिको बैठकमा सुनियो, मिटरब्याजको अध्यादेश शून्यमा गयो। प्रतिस्थापन विधेयकमार्फत अघि बढ्न सक्थ्यो भन्ने चर्चा चल्यो । प्रतिपक्षीहरू यसको विपक्षमा छन् भन्ने भ्रम छर्न खोज्यो । आजको कार्यसूचीमा किन आएन ? कसका कारणले रोकियो । राष्ट्रिय स्वतन्त्र पार्टी मिटरब्याजबाट पीडित भएकाहरूको पक्षमा छ । सरकारलाई यो विधेयक यथाशीघ्र सदनमा ल्याउन आग्रह गर्न चाहन्छ । मिटरब्याजका पक्षमा जीवनमरणको दोसाँधमा नागरिक छन् । उनीहरूको पीडाको सम्बोधन गर्नुपर्छ । कसको स्वार्थले ल्याएन ? यो सदनलाई थाहा हुनुपर्छ,’ उनले भने ।

संवेदनशील विषय कार्यसूचीमा रहेकाले आज अवरूद्ध नगर्ने तर अर्को बैठकमा ल्याउन उदासीनता देखाए प्रतिवाद गर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठक अहिले चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्