संघीय निजामती सेवा ऐन छिट्टै ल्याउँछौं : मन्त्री मोदी
काठमाडौं, असार २८ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै आउने जानकारी दिएका छन्।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा विनियोजन विधेयक अन्तर्गत आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले सरकार संघीय निजामती सेवा ऐनप्रति गम्भीर भएको भन्दै छिट्टै ऐन ल्याउने बताएका हुन्।
मन्त्री मोदीले आगामी साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै उनले एक लाख ३७ हजार कर्मचारीमध्ये संघ अन्तर्गत ५३ हजार कर्मचारी समायोजन गरेको बताए।
त्यस्तै आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल आयल निगमको पोखरा र अमलेखगञ्जमा थप भण्डारगृह निर्माण कार्य सम्पन्न हुने जानकारी दिए।
उनले एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाह निर्माणलाइ निरन्तरता दिएको बताए। मन्त्री रिजालले जनकपुर चुरोट कारखाना सञ्चालन गर्ने कुनै योजना नरहेको र अन्य रुग्न उद्योगहरुको बारेमा अध्ययन सम्पन्न भइसकेको बताए।
त्यस्तै आफ्नो मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शहरी विकास मन्त्री सीता गुरुङले नयाँ शहर आयोजनालाई प्राथमिकता दिँदै बजेट बिनियोजन गरिएको बताए।
उनले जनता आवास कार्यक्रम प्रदेशमा हस्तान्तरण भइसकेको अवस्थामा आगामी आर्थिक बर्षमा प्रदेश सरकारमार्फत अघि बढाउने गरि निरन्तरता दिइएको जानकारी दिए।
त्यस्तै उनले फोहोरमैला व्यवस्थापनमा स्थानीय तहलाई जिम्मेवार बनाउने गरि विशेष योजना बनाइएको पनि धारणा राखे।
प्रतिक्रिया दिनुहोस्