गाउँपालिकाका अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, असार २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित ११ जनाविरुद्ध काठमाडौं विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
आयोगले बुधबार उनीहरुविरुद्ध गैर कानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
गाउँपालिका अध्यक्षसहितका ११ जनाले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जनाएका छन् ।
जिल्ला झापा, झापा गाउँपालिकास्थित लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ कि।मि।बाटो बनाउन अनुगमन नगरी झुट्ठा बिल भर्पाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी २२ लाख नौ हजार ८२३ रुपैयाँ बढी भुक्तानी दिएको आयोगले जनाएको छ ।
आयोगले दायर झापा गाउँपालिकाका अध्यक्ष जय नारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चोलराज दंगाल, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्ष समेत ११ जना विरुद्ध मुद्दा चलाएको हो । आरोपीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद र सजाय गर्न आयोगले माग गरेको छ ।















प्रतिक्रिया दिनुहोस्