पत्नी सीतालाई श्रद्धाञ्जली दिंदै गर्दा भक्कानिए प्रचण्ड

काठमाडौं , असार २७ । पत्नी सीता दाहालको निधनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावविह्वल बनेका छन् । पार्टी कार्यालयमा सीतालाई झण्डा ओडाएर श्रद्धाञ्जली दिने  क्रममा प्रचण्ड भक्कानिएका हुन् । यस्तै मौन धारण गर्ने क्रममा पनि उनी भक्कानिएर रोएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि एक पटक शोक व्यहोर्न पुगेका हुन् । छोरा प्रकाश दाहाललाई गुमाएको ६ वर्षपछि प्रचण्डले पत्नी शोक पनि व्यहोर्नु परेको हो । उनले सबैभन्दा पहिले जेठी छोरी ज्ञानुलाई क्यान्सरका कारण गुमाएका थिए । बुधबार बिहान सीताको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । निधनपछि उनको पार्थिव शरीर अहिले पेरिसडाँडामा राखिएको छ । जहाँ प्रचण्डले भावविह्वल हुँदै पत्नी सीताको पार्थिक शरीरमा श्रद्धाञ्जली दिए ।

जनयुद्धको नेतृत्व गर्दा हरपल आफूलाई साथ दिएकी सीतालाई गुमाउँदा प्रचण्ड अश्रुमिश्रित अवस्थामा देखिए । पेरिसडाँडामा जीवनसाथीको पार्थिव शरीरमा पुष्पअर्पण गर्दा प्रचण्डलाई दुई छोरी रेनु र गंगाले सम्हाले । पहिले माला चढाइसकेपछि प्रचण्डले भावविह्वल मुहाराम पत्नीलाई मुठ्ठी उठाएर सलाम गरे ।

अहिले शुभेच्छुकहरुले झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उनको पार्थीव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने र २ बजे अन्तेष्टि गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्