अहिले सरकारमा जाने मनसाय छैन, ०८४ मा एक्लै बहुमत ल्याउने होः ओली
काठमाडौँ , असार २६ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन्।
कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्टयाएका हुन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकमा बोल्दै उनले आफ्नो पार्टी सरकार बनाउने खेलमा सहभागी नहुने बताए।
ओलीले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिशनमा लागेको दोहोर्याए। उनले सरकार र सत्तारुढ दलहरुले झुट बोल्नेबाहेक केही पनि काम गर्न नसकेको आरोपसमेत लगाए। साथै उनले सरकारले भ्रष्टाचार विरोधी कुनै काम गर्न नसकेको आरोप लगाएका छन् ।
बैठकमा ओलीले काम गर्न नसकेपछि अहिले सरकारले राजनीतिक स्टन्ट गरिरहेको टिप्पणी गरे ।
अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भइसकेको मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झुट कुरा गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे।उनले एमाले कुनै पनि भ्रष्टाचारमा नफसेको पनि दाबी गरे ।
उनले सो विधेयक समयमा संसद्मा नल्याउने अनि आफूले नै सो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतामाथि छल हुने गरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको समेत दाबी गरे।
अहिलेको सरकारको तागत झुट बोल्ने र अफवाह फैलाउन रहेको उनले बताएका छन् ।ओलीले अहिलेको सत्ता गठबन्धन एमालेविरुद्ध हल्ला फैलाउन लागिपरेको पनि बताए । उनले आफूहरुलाई बदनाम गराउने कदम चालिएको बताए ।
प्रतिक्रिया दिनुहोस्