सुन तस्करीको जालो

काठमाडौं , २६ असार । बरू चार्टले देखाएको जालोबारे केही संकेत गर्दै भने, ‘सुन तस्करीको जालो फेला पार्न प्रहरी सफल भएको छ । प्रहरीलाई कतार(दुबईबाट श्रमिकलाई भरिया बनाएर गरिने सुन तस्करीको ट्रेन्ड थाहा थियो। पटक(पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही मात्रामा सुन बरामद पनि हुने गरेको थियो। तर यसलाई पठाउने व्यक्तिहरू को हुन् भन्ने पहिचान हुन सकेको थिएन।

यहाँ आएपछि त्यो सुन कहाँ पुग्थ्यो, के हुन्थ्यो, कसले किन्थे भन्ने अनुसन्धान हुन सकेको थिएन। त्यसैबीच काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कतारी गिरोहबारे सूचना पाएपछि यसबारे अप्रेसन चलायो। गत जेठ पहिलो साताबाट प्रहरीले यसको अनुसन्धान अघि बढाएको थियो। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओर्लिने व्यक्तिहरूलाई निगरानी गर्दै अनुसन्धान अघि बढाएको हो। ‘हामीसँग केही सूचनाहरू भए पनि गम्भीर अनुसन्धानचाहिँ जेठ पहिलो सातादेखि सुरू गर्‍यौं,’ एसएसपी केसीले भने, ‘हरेक व्यक्तिहरूमाथि सुक्ष्म रूपमा निगरानी गरेका थियौं।’

त्यसरी अनुसन्धान गरेर प्रहरीले यस सुन तस्करीमा संलग्न १२ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरू पनि ४ तहका छन्। भरिया, होटल सञ्चालक, सुन व्यवसायी र हुण्डी कारोबारी। यसको कनेक्सन कतारदेखि काठमाडौं हुँदै सिराहासम्म पुगेको प्रहरीको अनुसन्धानबाट देखिएको छ। भरियाहरू धनुषाका २५ वर्षीय सुनिलकुमार महरा, सिराहाका दिनेशकुमार यादव, कपिलवस्तुका सन्तु गुलाम मुराउ, धनुषाका ३४ वर्षीय नरेश पंजियार र बाँकेका ३६ वर्षीय भुमबहादुर वली पक्राउ परेका छन्।

उनीहरू प्रत्येकबाट ५८ ग्रामको सुनको चेन प्रहरीले बरामद गरेको हो। उक्त सुन उनीहरूले सर्टको कलरमा लुकाएर भित्र्याएका हुन्। नेपालमा काँचो सुन ५० ग्रामसम्म प्रचलित दरअनुसारको महसुल तिरेर ल्याउन पाइन्छ। त्यसबाहेक थप ५० ग्रामसम्म ल्याउन प्रचलित दरअनुसार लाग्ने महसुलको अतिरिक्त थप ३ प्रतिशत महसुल लाग्छ। यसरी धेरै सुन ल्याउन नपाइने भएकाले तस्करहरूले भरियाको प्रयोग गर्ने गरेका हुन्। काँचो सुनको सिक्री बनाएर भरियालाई सर्टको कलर वा जुत्तामुनि लगाउन लगाएर पठाइएको एसएसपी केसीले बताए।

अहिले पक्राउ परेका भरियाहरू दुई वटा फ्लाइटबाट काठमाडौं आइपुगेका थिए। केसीका अनुसार कतारबाट नेपालमा सुन पठाउने व्यक्तिहरू पनि नेपालीहरू नै हुन्। प्रहरीले कतारमा रहेका गिरोहका सदस्यहरूको समेत पहिचान गरिसकेको छ। गिरोहका सदस्यहरूलाई पक्राउ गर्न पनि प्रक्रिया अगाडि बढाइने एसएसपी केसीले बताए। कतारको गिरोहले सुन किन्नका लागि पनि नेपाली श्रमिकहरूलाई नै प्रयोग गर्ने गरेका छन्। गिरोहका मानिसहरूले श्रमिकले पाउने तलब लिन्थे। त्यो तलब लिएर उनीहरूले सुन किन्थे। श्रमिकको रकम नेपालमा रहेका परिवारले हुन्डीमार्फत् पाउँथे।

सुनलाई सिक्रीको आकार दिएर त्यही सुन बोकाएर काठमाडौं पठाउने गरेको अनुसन्धानबाट खुलेको छ। ‘नेपालीहरूले पाउनुपर्ने तलब नै उनीहरूले उठाइदिने रहेछन्। त्यसबाट सुन किनेर अरू चिनेकै नेपालीहरूलाई भरिया बनाएर सुन पठाउँथे,’ एसएसपी केसीले भने। सुन बोकाएर पठाउन एयरपोर्टमा गिरोहका ४(५ जना नेपालीहरू तैनाथ हुन्थे। जसले चिनेका नेपाली श्रमिकलाई देखे पार्किङ लटमा लिएर जाने गरेको अनुसन्धानबाट देखिएको छ। पार्किङ लटमा लगेर श्रमिकलाई गिरोहले घेरेर दबाब सिर्जना गर्थे। त्यससँगै सुन लगेबापत ५ देखि १० हजार रुपैयाँ र काठमाडौं पुगेपछि होटलमा खाने(बस्ने समेतको सुविधा दिने भनेर आश्वासन दिन्थे।

‘सुरूमा दबाब सिर्जना गर्ने, अनि पैसा पनि दिन्छौं, होटलको सेवा(सुविधा पनि दिन्छौं भनेर भरिया बन्न लगाएको पायौं,’ एसएसपी केसीले भने। त्यसपछि गिरोहका सदस्यले भरिया र उसको लगेजसहितको तस्बिर खिचेर काठमाडौंमा रहेका सम्पर्क व्यक्तिलाई पठाउने गरेका थिए। सप्तरी घर भई काठमाडौं सिनामंगल बस्ने २८ वर्षीय विनोकुमार साह र उनकी श्रीमती सन्जुकुमारी साह सिनामंगल विमानस्थल नजिकै होटल हिमालयन स्पाइर चलाउँथे। विमानस्थलबाट पठाइएका तस्बिरमा आएका भरिया लिन पनि श्रीमान(श्रीमती नै पुग्थे। सुन लिइसकेपछि भरियालाई आफ्नै होटलमा बस्ने(खाने सुविधा दिने गरेका थिए। त्यसबापत दम्पतीले कमिशन लिन्थे।
दम्पतीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरू यो अनुसन्धानमा दोस्रो चरणका व्यक्तिहरू हुन्। विनोदकुमारको खातामा ४१ करोड ५४ लाख ७६ हजार ८६९ रुपैयाँ र उनकी श्रीमती सन्जुकुमारीको २ करोड १० लाख २७ हजार ४९७ रुपैयाँ बराबरको बैंकिङ कारोबार देखिएको छ। विनोदकुमार भने तस्करीको व्यापारमा सन् २०१९ देखि लागेको देखिएको छ।

यसरी उनीहरूले प्राप्त गरेको सुन किन्ने तेस्रो व्यक्ति पनि पक्राउ परेका छन्। सर्लाही घर भई काठमाडौं महानगर(२८ बागबजार बस्ने ५६ वर्षीय निमाइ साह पक्राउ परेका हुन्। उनी सुनका कालिगढ समेत हुन्। उनैले विनोदकुमारसँग सुन किन्‍ने गरेका थिए। सुन किनेर उनले आफ्नो बागबजारस्थित सुपर्ना ज्वेलर्सबाट बेच्ने गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीबाट ४६ तोला सुन समेत बरामद गरेको छ। विनोदकुमारले निमाइसँग रकम लिएपछि थप व्यक्तिहरूसँगको कनेक्सन खुल्छ। विनोदकुमारले दुई जना व्यक्तिहरूलाई पैसा पठाउँथे।

सप्तरी घर भई भक्तपुर बस्ने २२ वर्षीय दुर्गाप्रसाद यादव र सप्तरी घर भई काठमाडौं बस्ने २८ वर्षीय देवानन्द साह। दुर्गाप्रसादले ९० लाख ९८ हजार ५ सय रुपैयाँ र देवानन्दले ९४ लाख ५० हजार रुपैयाँ बराबरको बैंकिङ कारोबार गरेको समेत प्रहरी कार्यालयले जनाएको छ। उनीहरूले भने अर्का एक जना व्यक्तिलाई रकम पठाउने गरेको एसएसपी मनोजकुमार केसीले बताए। जसलाई प्रहरीले प्रमुख आरोपीको रूपमा उभ्याएको छ। उनी सिराहा लहान नगरपालिका(४ कुमहाल टोल बस्ने शिवसुन्दर राउत हुन्।

उनका सहयोगी २३ वर्षीय मोहनकुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ। आइतबार दुबै जनालाई पक्राउ गरी काठमाडौं ल्याएको हो। ‘यहाँ नेपालमा बसेर सुन तस्करी सञ्चालनमा प्रमुख व्यक्ति नै शिवसुन्दर हुन्। उनले सन् २०१२ देखि नै यो तस्करी गर्दै आएको खुलेको छ। विनोदकुमार २०१९ देखि मात्रै जोडिएको देखिन्छ,’ एसएसपी केसीले भने। शिवसुन्दरले सिराहामा एउटा जनरल स्टोर खोलेका छन्। जसको नाम रिटेश जनरल स्टोर राखिएको छ। त्यसमार्फत उनले हुन्डी कारोबार गर्दै आएका थिए। उक्त जनरल स्टोरको कारोबारमाथि प्रहरीले छानबिन गर्दा एक अर्ब ८१ करोड ५७ लाख १९ हजार ८७ रुपैयाँको कारोबार देखिएको छ।

यस्तै शिवसुन्दरले मात्रै १२ करोड ११ लाख ४२ हजार ४०८ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। यसरी आफ्नो खाता र जनरल स्टोरको खाताबाट मात्रै उनले एक अर्ब ९३ करोड ६८ लाख ६१ हजार ४९५ रुपैयाँ बराबरको कारोबार गरेका छन्। एसएसपी केसीका अनुसार उनले सिराहामा मात्रै ९३ करोडको सम्पत्ति जोडेको अनुमान छ। जसबारे प्रहरीले विस्तृत अनुसन्धान गर्ने बताएको छ। यसरी शिवसुन्दरसम्म पैसा आइपुगेपछि भने उनले श्रमिकका परिवारको खातामा पैसा जम्मा गरिदिने गरेका छन्। उनलाई पनि प्रहरीले अहिले हिरासतमा लिएको छ।

‘कतारमा सुन किन्नको लागि तलब दिएका व्यक्तिहरूको परिवारलाई शिवसुन्दरले खातामा पैसा जम्मा गर्न लगाउने गरेका थिए,’ उनले भने, ‘यसरी सरकारलाई तिर्नुपर्ने कर छल्न संगठित रूपमा सुन तस्करीदेखि हुन्डी कारोबारसमेत गरेको देखिन्छ।’ यसरी तस्करीमा संलग्न प्रमुख व्यक्तिहरूको दुई अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५४९ रुपैयाँ बराबरको बैंकिङ कारोबार गरेको देखिएको छ। कतिपय घटनामा यसरी श्रमिकले कर छल्न हुन्डीको बाटो रोज्दा घरमा पैसा नै नपाएका पनि छन्।

त्यसैगरी यसरी सुन भरिया बन्दा ज्यानसमेत जोखिममा पर्ने गरेको एसएसपी केसीले बताए। ‘एक जना भरिया बनेर आएका व्यक्ति झुक्केर अर्कै होटलमा बस्न पुगेका रहेछन्। त्यसपछि कताकताबाट तस्करहरूले परिवारसम्म सम्पर्क गरेर ज्यान मार्ने धम्कीसमेत दिएको घटना पनि छ,’  उनले भने। अनुसन्धानको क्रममा यसरी नै कतारबाट हरेक फ्लाइटमा कम्तीमा पनि १५ देखि २० जनालाई सुन बोकाएर पठाउने गरेको प्रहरीको अनुमान छ। यसमा संलग्न व्यक्तिहरू अझै पक्राउ पर्न बाँकी नै छन्। नेपालमै भएका व्यक्तिहरूसँगै कतारमा समेत भएका व्यक्तिहरूको पहिचान गरी प्रहरीले खोजी गरिरहेको हो। अहिले पक्राउ परेका व्यक्तिहरूमाथि भने संगठित अपराध कसुरअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति समेत लिएको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्