प्रचण्डको स्पष्टीकरण- प्रधानमन्त्री होइन ज्ञानुको बुबा भएर बोलेँ, थोरै भावनामा आएँ

काठमाडौं, असार २५ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे जवाफ दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफ्नो विवादित अभिव्यक्तिबारे जवाफ दिएका हुन् ।

सरदार प्रितम सिंहको पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्तिमा केही भावनात्मक भएको बताउँदै उनले सो कार्यक्रममा प्रधानमन्त्रीको हैसियतमा नभएर ज्ञानुको बुबा भएर बोलेको जानकारी दिए ।

प्रीतम सिंहले २०६७ सालतिर आफ्नो छोरी ज्ञानुको उपचार भारतमा गर्ने बेलामा निकै सहयोग गरेको स्मरण गराउँदै उनले भने, ‘मेरो छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा मैले त्यहाँ कुरा गरेको हुँ, नबोलेको भए पनि हुने थियो । म अलि भावुक बनेकै हुँ, तब न प्रचण्ड । त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानु (छोरी)को बुबा भएर बोलेँ । म अलिकति भावनात्क छु । म थोरै भावनामा आएँ ।’

त्यस्तै प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान निरन्तर रहने बताएका छन् ।बैठकमा उनले ‘निर्दोष नपरुन् दोषी नछुटून्’ भन्ने हेक्का राखेर नै भ्रष्टाचारविरुद्ध अभियान जारी रहने बताए ।

यो अभियान जरासम्मै पुग्ने बताउँदै उनले यसका लागि सबै राजनीतिक दल र सांसदहरुको साथ चाहिने बताए । प्रतिपक्षी दलका नेतासँगको भेटप्रति आशंका गरिएको भन्दै उनले उक्त भेटमा दोषी जोगाउने गरी कुनै कुरा नै नभएको बताए ।

उक्त भेटमा अन्य विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्