संसदमा प्रधानमन्त्रीको प्रश्न : प्रतिपक्षले माग्ने बित्तिकै राजीनामा दिनुपर्ने हो ?’

काठमाडौँ , २५ असार   । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अभिव्यक्ति आएपछि उठेका प्रश्न तथा टिप्पणीको स्पष्टीकरणका लागि पहिले नै तयार भए पनि मौका नदिइएको बताएका छन् ।

आज (सोमबार) संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई आफ्ना कुरा राख्नका लागि अवसर नदिइएको गुनासो राखे । प्रतिपक्षी दलले राजीनामा नआएसम्म संसद् चल्न नदिने भन्दै अडान लिएको कुराप्रति उनले आपत्ति जनाए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई लक्षित गर्दै उनले यसरी राजीनामा माग्नु लोकतान्त्रिक पद्दति नभएको पनि बताएका थिए ।

राजीनामा माग गर्दै तीन दिनसम्म संसद् अवरुद्ध पारिएकोमा उनले असन्तुष्टि व्यक्त गरे । ‘म शुरूदेखि स्पष्ट पार्नकै लागि पर्खिएर बसेको थिएँ, राजीनामा नआएसम्म संसद् चल्न दिइँदैन भनियो । के यही यो संसदीय अभ्यास ? एकचोटी मैले यो सदनसमक्ष भन्न पाउनु पर्दैन ? किन तीन दिनसम्म सदन अवरुद्ध गरियो ?’ उनले भने ।

संसद्मा आज आफू प्रतिवादका लागि उभिएको नभएर स्पष्टीकरणका लागि उपस्थित भएको पनि उनले बताएका थिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले बुझ्न सकेको छैन । के प्रतिपक्षले राजीनामा माग्ने बित्तिकै राजीनामा दिइहाल्नुपर्ने हो ? यही हो हामीले मान्दै आएको लोकतान्त्रिक पद्धति ? यी मेरा प्रश्नहरू मात्रै हुन् । म यहाँ प्रतिवादका लागि होइन, स्पष्टीकरणका लागि उपस्थित भएको हुँ ।’

प्रतिक्रिया दिनुहोस्