संसद् अवरोध हटाउन एमाले तयार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं, असार २५ । संसद्को अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सम्पन्न भएको छ।

सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए । उनीहरुबीच छलफल भएको बैठक सकिएको हो।

बैठकमा संघीय संसद्को अवरोध हटाउन एमाले तयार भएको बताइएको छ। बैठकपछि सञ्चारकर्मीसंग बोल्दै ओलीले ‘पार्लियामेन्टमा थाहा हुन्छ’ भनी बाहिरिएका छन्। सहमति भएसँगै अब बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको छ।

१८ असारमा प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन समारोहमा भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोध गर्दै एमालेले राजीनामा माग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्