प्रतिनिधि सभा बैठक बस्दै, सम्भावित ५ वटा कार्यसूची

काठमाडौं, असार २५ ।  प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दैछ। बैठक दिउँसो ३ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

सोमबारको बैठकका लागि सम्भावित ५ वटा कार्यसूची छन्। बैठकको सुरुमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची छ।

यस्तै, केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई प्रस्तुत गर्ने अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु ज्ञान बहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधका सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

सोमबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल संशोधन गर्न बनेको विधेयक र राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। संशोधनहरुबारे निर्णय भएपछि कानुनमन्त्री गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन्।

यसअघि आइतबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो। संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध गर्दै आएको छ।

संसद्‌ खुलाउने सन्दर्भमा आइतबार प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको भनिएको थियो। तर एमालेले अध्यक्ष ओलीले सहमति तोडेपछि संसद्‌ बैठक सरेको सत्ता पक्षीय नेताहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्