मिटरब्याज विरूद्धको कानून पारित गर्न माग गर्दै प्रदर्शन
काठमाडौं , असार २४ । मिटरब्याज विरूद्धको कानून पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
आइतबार काठमाडौंको माईतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका हुन् ।
मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० बैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भएको छ ।
संविधान अनुसार अध्यादेश जारी भएको ६० दिनभित्र संसदबाट पारित नभए निष्क्रिय हुन्छ । कानून निष्क्रिय भएसँगै मिटरब्याज पीडितहरुले कानून पारित हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।
मिटरब्याज पीडित रेखा साहले तीन वटा पार्टीहरु मिलेर मिटरब्याज विरुद्धको कानून पारित हुन नदिएको आरोप लगाउनुभयो । उहाँले संसदबाट मिटरब्याज बिरुद्धको कानून पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।
पीडित साहले मिटरब्याज पीडितले न्याय नपाएसम्म सडक आन्दोलन गरिरहने बताए। उनले नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपाल गरी तीन पार्टी मिलेर कानून पास हुन नदिएको आरोप लगाए ।
पीडितहरुले सरकारले माग सम्बोधन गर्न छानबिन आयोग बनाएर पनि कारबाही गर्न बनेको कानून निष्क्रिय भएसँगै मिटर ब्याजीहरु चलमलाएको बताए । उनीहरुले मिटरब्याजीहरु घरघरमा गएर गाली बेइज्जती गर्न थालेको बताए । पीडितहरुले सरकारले दिएको ललिपपले मान्ने अवस्था नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्