आरजु राणा मुछिएको अडिओको स्वर सन्देश शर्मासँग मिल्यो

काठमाडौं , असार २४ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवालाई मुछिएको अडिओको स्वर सन्देश शर्माको स्वरसँग मिलेको छ ।

तुल्सीपुर उपमहानगरपालिका– १६, दाङका ३४ वर्षीय शर्मा हाल जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेकाका छन् । शर्मा पनि नक्कली भुटानी शणार्थी प्रकरणमा पक्राउ परेका हुन् ।

आरजु राणालाई पैसा बुझाएको भनिएको अडिओको परीक्षण गर्दा उक्त अडिओको स्वर शर्माको स्वरसँग मिलेको प्रहरीले जनाएको छ ।

अडियो बाहिर आएपछि राणाले उक्त अडियो नक्कली भएको भन्दै यसको जाँच गर्न प्रहरीमा २७ वैशाखमा उजुरी दिएकी थिइन् । उक्त उजुरीमाथिको छानविनको प्रगतिबारे जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आइतबार यस्तो खुलासा गरेका हुन् ।

‘मा. डा. आरजु राणा देउवाले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियोका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीमा मिति २०८०।०१।०२ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा ‘स्पिकर्स आइडेन्टिफिकेसन ट्रेइट्स म्याच’ भनी भनी उल्लेख भएको जुन स्वर (भ्वाइस) जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगर पालिका १६ दाङ घर भएका वर्ष ३४ को सन्देश शर्माको ‘कन्ट्रोल स्याम्पल’ सँग मेल खाएको’, कडायतले दिएको जानकारीमा भनिएको छ, ‘कहाँ र कसबाट ओरिजिनेट भएको भन्ने सम्बन्धमा टिकटक सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन नसकेको । निज सन्देश शर्माको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट ठगी तथा संगठित अपराध कसुर मुद्दा चली सम्मानित जिल्ला अदालतमा कारबाहीको क्रममा रहेकोले निज सन्देश शर्मासँग सम्बन्धित थप विवरण सम्मानित अदालतबाट उपलब्ध हुने व्यहोरा जानकारी गराइएको छ ।’

सांसद देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको अडियो ‘फेक’ भएको दाबी गर्दै छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै साइबर ब्युरो भोटाहिटीमा उजुरी दिएकी थिइन् ।

‘विभिन्न सञ्चारमाध्यममा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य बेहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेस गरेको छु,’ आरजुले दिएको निवेदनमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्