विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालय गम्भीर हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौं, असार २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि बर्सेनि लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेमात्र विश्वविद्यालयले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताएका छन् ।
पोखरा विश्वविद्यालयको सिनेट बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको अस्वाभाविक आकर्षण बढेको विषयलाई नेपालका विश्वविद्यालयले गम्भीर समीक्षा गर्न जरुरी रहेको उनले औंल्याए ।
प्रधानमन्त्री दाहालले भने, ‘पछिल्लो समय नेपाली विद्यार्थीमा विदेश अध्यययन गर्न जाने अस्वाभाविक आकर्षण बढेको छ, यस विषयलाई नेपालका विश्वविद्यालयले गम्भीर समीक्षा गर्न जरुरी छ।’
साथै उनले संघीय शिक्षा ऐन छिटो पारित गर्न सरकारले उच्च प्राथमिकता दिएको समेत बताए।
प्रधानमन्त्री दाहालले विश्वविद्यालयको रणनीतिक योजनामा रहेका विषयवस्तु र कार्ययोजना राम्रो रहे पनि रणनीतिक योजनामा यसअघिको रणनीतिक योजनामा लक्ष्य निर्धारण भएका क्रियाकलाप कति परिणाममुखी भए, कति कार्यान्वयन हुनसके वा सकेनन्, केकस्ता जोखिम आए भन्ने जस्ता विषयमा गम्भीर बहस हुनुपर्ने बताए।
सबै विश्वविद्यालयले शैक्षिक क्यालेन्डर बनाइ दृढतापूर्वक लागू गर्नुपर्ने उनको भनाइ छ।
विश्वविद्यालयले देशको आवश्यकता र विद्यार्थीको मागअनुसारको समय सान्दर्भिक पाठ्यक्रम निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ। उनले कार्यक्रम विस्तार गर्दा सर्वसुलभ शिक्षाको पहुँचबाट टाढा रहेका क्षेत्र तथा जनतालाई प्राथमिकता दिनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्