रोस्टम घेराउ गरेपछि बैठक स्थगित, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म एमालेले संसद चल्न नदिने
काठमाडौँ , असार २० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ। एमालेबाट बोल्दै सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद चल्न नदिने चेतावनी दिएका हुन्।
प्रधानमन्त्री दाहालले प्रितम सिंहको किताब विमोचनको क्रममा आफू प्रधानमन्त्री हुँदा पटक-पटक दिल्ली गएको र आफूलाई प्रधानमन्त्री बन्न सहयोग गरेको अभिव्यक्ति दिएका थिए।
सो अभिव्यक्तिले नेपालीको मनमा आघात पुगेको एमालेको जिकिर छ।
‘यतिबेला नेपालीको मनमा आघात पुगेको छ। सम्मानीय प्रधानमन्त्री भनौं कि नभनौं भइरहेको छ। हाम्रो मनमा बादल लागेको छ। नेपालीको स्वाभिमान गिरेको छ। नेपालीहरू रोएको छ,’ एमाले सांसद पन्तले भने।
उनले नेपालीहरू वीर सपुतहरूको सन्तान रहेको भन्दै प्रधानमन्त्री राष्ट्रको गरिमाभन्दा ठूलो हुन नसक्ने बताए। ‘हामी भक्ति थापा, अमर सिंह, वलभद्र कुँवरको सन्तान हौं। के प्रधानमन्त्री राष्ट्रको गरिमाभन्दा ठूलो कुरा हो? यदि होइन भने नैतिकताको आधारमा प्रधानमन्त्रीमा बस्नु हुँदैन। राजीनामा दिनुस्,’ सांसद पन्तले भने।
उनले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने बताए।
सभामुख देवराज घिमिरेले संसद अगाडि बढाउन खोज्दा एमालेले रोस्टम घेराउसमेत गरेको थियो। एमालेसँगै प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले पनि संसद अवरोध गरेका थिए।
सभामुख घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित गरेका छन्। यसअघि पनि एमालेले प्रधानमन्त्रीको जवाफ मागेपछि संसद बैठक बस्न सकेको थिए। उता राष्ट्रिय सभामा पनि एमालेले अवरोध गर्न बैठक बस्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्