ललिता निवास परिसरभित्रका संरचना हटाउन काठमाडौँ महानगरपालिकाको ७ दिने अल्टिमेटम

काठमाडौं, असार १७ ।काठमाडौँ महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । आइतबार महानगर प्रमुख बालेन शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको हो ।

काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेले साे निवासभित्र रहेका संरचना ७ दिनभित्र हटाउन अल्टिमेटम दिएको जानकारी दिए । निवास परिसरभित्र र वरिपरि राष्ट्र बैंकको निर्माणाधीन भवनका सामान राखिएका छन् ।

महानगरले आइतबार दिउँसो नगरप्रहरीको टोली तारबारका लागि त्यहाँ पठाएको हो।उक्त जग्गा संरक्षणका लागि तारघेर लगाउन लागिएको महानगरले बताएको छ।

ललिता निवासअन्तर्गत खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्व रहेकोले तारबार गर्न लागिएको नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए।

‘ललिता निवासअन्तर्गत खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार गर्न हाम्रो टोली जाँदैछ’, उनले भने, ‘सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्व हो। त्यहीअनुसार उक्त क्षेत्रमा तारबार गर्दैछौँ।’

प्रतिक्रिया दिनुहोस्