कर्मचारी र वकिलको विवादले सर्वोच्चसहित देशभरका अदालत ठप्प

काठमाडौं , असार १७ । ललितपुर जिल्ला अदालतका नासु प्रेमिका तामाङमाथि भएको हातपातविरुद्ध देशभरका अदालतका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेकोविरुद्ध देशभरका अदालतका कर्मचारीहरूले आन्दोलन गरेका छन् । देशभरका अदालतका कर्मचारीहरूले आइतबार ‘पेन डाउन’ गर्दै तामाङमाथि भएको घटनाविरुद्ध खेद जनाउँदै आन्दोलनमा उत्रिएका हुन् ।

आइतबार दिउँसो साढे १ बजेसम्म अदालती कारबाही नगर्ने भन्दै पेन डाउनको घोषणा गरेका हुन् । हरेक अदालतमा दैनिक पेसी तोकिएको भएपनि अदालतका कर्मचारी आन्दोलनमा रहँदा १ः३० बजेसम्म मुद्दाको सुनुवाइ, पेसी तारिख लिनेदेखि मुद्दा दर्तालगायत सबै काम स्थगित गरिएको जनाइएको छ ।

गत बुधबार अदालतको कार्यालयभित्रै कानुन व्यवसायी अमिर लामिछानेले तामाङमाथि हातपात गरेका थिए । बुधबार अपराह्न साढे ४ बजेतिर लामिछानेले आफै अदालतका कागजातहरू पल्टाएर हेर्न थालेकोमा आफूले भिडभाड भएकाले अहिले नहेर्न भनेको तर उनले उल्टै दुव्र्यवहार गरेको निवेदनमा उल्लेख छ ।

लामिछानेले हातपात गर्दा आफ्नो मुख र पाखुरामा चोट लागेको तथा सर्ट समेत च्यातिदिएको तामाङको दाबी छ । निवेदनमा लामिछानेले कार्यालयको काम तथा न्याय सम्पादनमा अवरोध गरेको पनि भनिएको छ । तामाङमाथि अभद्र व्यवहार गर्ने लामिछानेविरुद्ध अवहेलनाको मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्