प्रधानमन्त्री प्रचण्ड र जनमत अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता

काठमाडौं, असार १७ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

आज (आइतबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा सरकारलाई दिएको समर्थनका विषयमा छलफल भएको बताइएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले समर्थन फिर्ता नलिन आग्रह गरेको जनाइएको छ । उनले जनमतलाई सरकारमा समेट्ने आश्वासन दिएका छन् । आफ्नै पार्टीबाट एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि सरकारमा समेट्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका छन् । पछिल्लो समय जनमतलाई सरकारमा समेट्न ढिला गरेकाले प्रचण्डसँग सीके राउत असन्तुष्ट छन् ।

प्रधानमन्त्री प्रचण्डले गत पुस ११ गते शपथ लिए लगत्तै जनमतले कृषि र उद्योग मन्त्रालय मागेको थियो । पहिलो चरणमा जनमतले खानेपानी मन्त्रालय पाएकाले अब्दुल खानलाई मात्रै पठायो । प्रचण्डले तत्काल खानेपानी मन्त्रालय लिए पनि पछि अर्को मन्त्रालय फेर्ने बचन दिएका थिए । अन्तिममा खानेपानी मन्त्रालयबाट सुरुवा नहुनुका साथै थप अर्को मन्त्रालय नपाएपछि खानले गत चैत १७ गते राजीनामा दिएका थिए ।

जनमत पार्टीका मन्त्री खानले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको थियो । तर आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिएपछि जनमतले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने तयारी गरेको छ । यदि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिनुपर्ने देखिएको छ । तर, कतिपय संविधान विद्हरूले भने अर्को पटक विश्वासको मत लिन नपर्ने तर्क पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्