कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो,

काठमाडौं, १५ असार । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनी नेतृत्वको सरकार ढलेको हो ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । कार्कीले एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेशसभा सदस्यको मत पाएका थिए । उनको विपक्षमा ४३ मत परेको छ । नेपाली कांग्रेसका, माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गरे ।

आजको बैठकमा ८९ सदस्य मात्र उपस्थित थिए । जनता समाजवादी पार्टी (जसपा)की प्रदेशसभा सदस्य निर्मला लिम्बुसँगै प्रतिपक्षी दलका अरू दुई सांसद अनुपस्थित रहे । जसपाले यसअघि नै तटस्थ बस्ने निर्णय गरेको थियो ।

कार्की नेतृत्वको सरकार ढलेकाले अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । २०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि २४ पुसमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।
विराटनगर । पाँचदलीय गठबन्धनका नेताहरुले कोशी प्रदेशमा बहुमतको सरकार गठनको प्रयास गर्ने बताएका छन् । तर सहमतीय सरकार गठनको सम्भावना पनि नकारेका छैनन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएसँगै एमाले नेतृत्वको सरकार ढलेको छ । अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्ने छन् ।

पाँचदलीय गठबन्धनका नेताहरुका अनुसार सुरुमा बहुमतीय सरकार गठनको प्रयास हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ । माओवादी केन्द्रबाट निर्वाचित भएर सभामुख भएका बाबुराम गौतमलाई नजोड्ने हो भने गठबन्धनसँग जम्मा ४६ प्रदेशसभा सदस्य छ । कांग्रेसका २९, माओवादी केन्द्रका १२ ९सभामुख बाहेक०, एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी ९जसपा० का एक प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेसँग ४० सिट छ भने राप्रपासँग ६ प्रदेशसभा सदस्य छन् । अर्थात दुबै ९एमाले–राप्रपा र पाँचदलीय० गठबन्धनसँग समान ४६ मत मात्र छ ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापा बहुमत जुटाएर गठबन्धनको सरकार गठनको प्रयास हुने बताउँछन् । प्रदेशसभामा ९३ सदस्य रहेको भन्दै उनले भने, ‘अहिले हामीसँग ४६ छ । बाँकी रहेको संख्याबाट प्लस गराउने कोसिस गर्छौं ।’
राप्रपा आउँछ भन्ने प्रश्नमा उनले भने, ‘सम्भावना छ ।’

यद्यपि सहमतीय गठनको सम्भावना पनि उनले अस्वीकार गरेनन् । कांग्रेस संसदीय दलका नेता थापाले भने, ‘सहमतीय सरकारको कुरा भइराखेको छ । त्यो पनि हुन्न भन्न सकिन्न ।’

प्रदेशको अवस्थालाई हेरेर स्थायित्वका लागि सहमतीय सरकार गठन गर्नुपर्ने हुनसक्ने बताए । उनले अघि भने, ‘अहिले पहिलो प्रयास चाहिँ गठबन्धन दलहरु भित्रैबाट बहुमत पुर्‍याएर सरकार बनाउने र चलाउने कोशिश गर्छौं ।’

माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरे ।

गठबन्धनमा सरकारको नेतृत्वबारे पनि सहमति जुटेको छैन । एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले भने मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको बताएका छन् । सरकारमा माओवादी र कांग्रेसको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्