सर्तसहित बजेटका पक्षमा भोट हाल्ने निर्णय गर्दै एकीकृत समाजवादी
काठमाडौं, असार १३ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटमा असन्तुष्ट रहेको दल एकीकृत समाजवादीले सर्त अघि सार्दै पक्षमा निर्णय गर्ने तयारी गरेको छ।
बजेटको समानुपातिक वितरणलाई लिएर फरक मत राख्दै आएको उक्त पार्टीको केही बेरमा बस्ने संसदीय दलले उक्त निर्णय गर्ने सांसद मेटमणि चौधरीले जानकारी दिए।
उनका अनुसार गत जेठ ३० गते शीर्ष नेताहरुबीच भएको बजेट संशोधन गर्ने सहमति समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मरण गराइनेछ। बजेट संशोधन नगरी पक्षमा मतदान गर्न सत्तारुढ २ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले ह्विप जारी गरिसकेका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केही दिनअघि यथास्थितिमा बजेट पास भए वर्तमान सत्तागठबन्धनको सरकार ढल्नसक्ने चेतावनी समेत दिएका थिए। प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग नेपालले भनेका थिए, ‘यो बजेटप्रति धेरै साथीहरू असन्तुष्ट हुनुहुन्छ। आक्रोशित नै हुनुहुन्छ। त्यसैले बजेटमा लचकता नदेखाए के हुन्छ भन्न सकिँदैन। यही स्थिति रहने हो भने सरकार दुर्घटनामा जान्छ। तर त्यस्तो नजाओस्।’
यसैगरी बजेटप्रति असन्तुष्ट अर्को सत्तारुढ दल जनता समाजवादी पार्टीले पनि संसदीय दलको बैठक बसेर पक्षमा मतदान गर्ने निर्णय गर्दैछ।
प्रतिक्रिया दिनुहोस्