११ उपमहानगरपालिका मध्ये १० वटाको बजेट कुनको कति ? जितपुर सिमराले आज बजेट ल्याउँदै
देशभरका ११ उपमहानगरपालिका मध्ये १० वटा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरिसकेका छन् ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले असार २ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको यो उपमहानगरले बजेट ल्याउने क्रममा विवाद १० गते नै बजेट ल्याउन नसकेको हो । यस यपमहानगरपालिकाले १३ गते बजेट ल्याउँदै छ ।
उपमहानगरपालिकाहरुले ल्याएको बजेटमा सामाजिक विकास केन्द्रित विषयहरु प्राथमिकतामा राखेको पाइएको छ ।
हेटौंडा उप महानगरपालिकाः
हेटौंडा उप महानगरपालिका सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ ।
उप महानगरले २ अर्ब ६० करोड ६५ लाख ४० हजारको बजेट ल्याएको छ ।
बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरको हेटौंडा उपमहानरगपालिकाले उपमहानगरमध्ये सबैभन्दा ठूलो आकारको बजेट ल्याएको हो ।
२ असारमै ल्याएकोको बजेटमा शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकताको दिइएको छ । २ अर्ब ६० करोड ६५ लाख ४० हजारको बजेटमा शहरी स्वास्थ्य केन्द्र र विद्यालयहरुमा लगानी बढाउने पनि उल्लेख छ ।
कार्यपालिका बैठकले गरिब घरपरिवारलाई निःशुल्क खानेपानी वितरण गर्ने निर्णय अनुसार महसुल भुक्तानीका लागि १ करोड बजेट विनियोजन गरिएको छ । उपमहानगरले शिक्षामा सशर्त ७६ करोड र स्वास्थ्यमा ६ करोड ९० लाख रुपैयाँ छुट्याएको छ ।
बुटवल उप महानगपालिकाः
वुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ ।
बजेटमा शिक्षा र स्वास्थ्य क्षेलाई मुख्य प्राथमिकता दिइएको छ
उपमहानगरपालिकाले महिला, बालबालिका, समावेशीकरणतर्फ २७ करोड ४९ लाख, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ४१ करोड १८ लाख, वडास्तरीय योजनाहरुका लागि १६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै कृषि, पशुपन्छी विकास, पर्यटन, उद्योग, वाणिज्य, सहकारी र रोजगारतर्फ ४ करोड ४० लाख, फोहोरमैला व्यवस्थापन तथा वातावरणतर्फ १ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
इटहरी उपमहानगरपालिकाः
आर्थिक वर्ष २०८०/८१ लागि इटहरी उपमहानगरपालिकाले २ अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट ल्याएको छ ।
उपमहानगरले चालुतर्फ १ अर्ब १५ करोड ७८ लाख २५ हजार र पूँजीगततर्फ १ अर्ब १८ करोड ७२ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षमा इटहरीको चौबाटोमा दुई वटा आकाशे पुल निर्माण गर्ने बजेटमा उल्लेख छ । मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेङ्ग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट बनाउनका लागि पनि बजेट विनियोजन गरिएको छ ।
स्वास्थ्य इटहरी कार्यक्रम अन्तर्गत नगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नका लागि २ वटा एम्बुलेन्स खरिद गर्ने पनि घोषणा गरिएको छ ।
जनकपुर उप महानगरपालिकाः
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० बजेट ल्याएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार लगायतलाई समेटेर सार्वजनिक गरिएको बजेटमा चालु तर्फ १ अर्ब १३ करोड ६२ लाख र पूँजीगततर्फ १ अर्ब ९ करोड २८ लाख ३५ हजार २९० रहेको छ ।
घोराही उपमहानगरपालिकाः
घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ ।
चालु तर्फ १ अर्ब २८ करोड ३ लाख ४० हजार र पूँजीगत तर्फ ८७ करोड ५१ लाख ४३ हजार रूपैयाँको बजेट सार्वजनिक गरिएको छ ।
घोराही उपमहानगरले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई प्राथामिकता राख्दै बजेटको बाँडफाँट गरेको छ । जसमा कृषिमा उत्पादन वृद्धि गर्न भन्दै सिँचाइ सुविधा विस्तारका लागि २ करोड ७१ लाख रुपैयाँ छुट्याइएको छ ।
धनगढी उपमहानगरपालिकाः
धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि एक अर्ब ९३ करोड ८ लाख २४ हजार रुपैयाँको बजेट ल्याएको छ ।
बजेटमा चालु खर्चतर्फ १ अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पूँजीगत खर्चतर्फ तर्फ ७८ करोड ६५ लाख २७ हजार विनियोजन गरिएको छ ।
तुलसीपुर उपमहानगरः
तुलसीपुर उपमहानगरपालिकाको आगामी आव ०८०/०८१ का लागि एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार ल्याएको छ ।
तुलसीपुर उपमहानगरले आवको चालुतर्फ ४७ करोड सात लाख १८ हजार र पूँजीगतर्फ १ अर्ब ३० करोड ८८ लाख ५१ हजार विनियोजन गरेको छ । उपमहानगरले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेको बजेटमा उल्लेख छ ।
धरान उपमहानगरपालिकाः
धरान उपमहानगरपालिकाको तेह्रौँ नगरसभाबाट आगामी आव ०८०/०८१ का लागि १ अर्ब ७१ करोडको बजेट नगर सभामा पेश गरेको छ ।
बजेटमा सामाजिक विकासतर्फ ठूलो रकम छुट्याइएको छ । धरानले मेयर कोषमा १ करोड ५० लाख उपमेयर कोषमा ७५ लाख रुपैयाँ राखेको छ ।
यस्तै बजेटमा पूर्वाधार विकासका लागि कुल ४४ करोड, २१ लाख, ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । कुल २० वडामा विनियोजित वडागत बजेट कुल २१ करोड रुपैयाँ रहेको छ ।
सामाजिक विकासका कार्यक्रम, साझेदारी र सहयोगका लागि कुल ५४ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विकासको शीर्षकमा कुल ३ करोड ४८ लाख ५० हजार रुपैयाँ छुटाइएको बजेटले उपमहानगरपालिमा बेसार उद्योग, साबुन उद्योग समेत स्थापना र सञ्चालन गर्ने घोषणा गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाः
नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/०८१ कालागि १ अर्ब ६७ करोड ५६ लाख बजेट ल्याएको छ ।
बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन प्रवद्र्धनलाई प्राथमिकता दिइएको बजेटमा उल्लेख छ । विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षामा जोड, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, योगमैत्री नगर बनाउने, पाँच वर्षभित्र क्षयरोगमुक्त उपमहानगर घोषणा गर्ने, जमुनाहा नाकामा हेल्थडेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने उल्लेख छ ।
प्लास्टिकका झोलाको प्रयोगलाई न्यूनीकरण गर्ने, हरित नेपालगञ्ज बनाउन सडकको दायाँबायाँ बिरुवा रोप्ने लगायतका कार्यक्रम समेत बजेटमा समेटिएका छन् ।
कलैया उपमहानगरपालिकाः
कलैया उपमहानगरपालिकाले आगमी आर्थिक वर्ष ०८०/०८१ का लागिका १ अर्ब ५३ करोड २८ लाख ६६ हजारको बजेट ल्याएको छ ।
चालु खर्चमा ३८ करोड ७२ लाख र पूँजीगत खर्चमा ५६ करोड ७५ लाख ६६ हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ ।
बजेटमा शिक्षा, स्वास्थ्य र कृषि लगायत क्षेत्रको पूर्वाधारहरु विकास, विस्तार र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्