सात वर्षपछि भारतीय भूमिमा क्रिकेट खेल्दै पाकिस्तान

काठमाडौँ, असार १२ । पाकिस्तानी क्रिकेट टोलीले भारतीय भूमिमा क्रिकेट खेल्ने भएको छ । सात वर्षको अवधिमा पहिलोपटक पाकिस्तानी खेलाडी भारतीय मैदानमा उत्रिन लागेका हुन् ।

उता भारतले पनि सात वर्षपछि पहिलोपटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मंगलबार ५० ओभरको क्रिकेट विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ । बहुप्रतिक्षित भारत-पाकिस्तानबीचको प्रतिस्पर्धा आगामी अक्टोबर १५ मा अहमदाबादमा हुनेछ ।

आईसीसी पुरुष क्रिकेट विश्वकपमा भारत र पाकिस्तानबीच सन् १९९२, १९९६, १९९९, २००३, २०११, २०१५ र २०१९ गरी सातपटक प्रतिस्पर्धा भएको छ । यी सबै प्रतिस्पर्धामा भारत विजयी भएको थियो ।

प्रतियोगिताको उद्घाटन खेलमा भने साविक विजेता इंग्ल्यान्ड र उपविजेता न्यूजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल ५ अक्टोबरमा अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ । १० टोली सहभागी हुने प्रतियोगितामा भारत, इंग्ल्यान्ड, पाकिस्तान, बंगलोदश, अस्ट्रेलिया, अफगानिस्तान, न्यूजिल्यान्ड र दक्षिण अफ्रिका खेल्ने पक्का भइसकेको छ ।

बाँकी दुई टोलीको टुंगो जिम्बाब्बेमा जारी विश्वकप छनोटबाट लाग्नेछ । प्रतियोगिताको फाइनल १९ नोभेम्बरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्