एकपटक भ्रमण गर्नै पर्ने स्थल गोकर्णेश्वर

रञ्जित धमला: गोकर्णेश्वर नगरपालिकाले प्राकृतिक र धार्मिक पर्यटनलाई जोड दिंदै आएको छ । आफ्नो नगरपालिका भित्र रहेका धार्मिक र प्राकृतिक स्रोतलाई उपयोग गर्दै पालिकालाई समृद्ध बनाउन पनि उत्तिकै लागिपरेको छ । आन्तरिक र वाह्य पर्यटनको दृष्टिले गोकर्णेश्वर नगरपालिका क्षेत्र नेपालकै संभावना बोकेको नगरपालिकामा पर्दछ ।
यो नगरपालिका धार्मिक हिसाबले पनि मन्दिरै मन्दिरको नगरपालिका भन्न सकिन्छ । यहाँका विभिन्न पर्यटकीय गन्तव्य घुम्नका लागि आन्तरिक र वाह्य पर्यटकको घुइँचो लागेको देखिन्छ, तर उनीहरू केही घन्टा घुमेर फर्कन्छन् । बास बस्ने गरी गोकर्णेश्वर आउने पर्यटकको संख्यामा खासै वृद्धि हुन नसकेको स्थानीय पर्यटन व्यवसायीको भनाई छ । यसको लागि खाना र बस्न होटलको राम्रो व्यवस्थासहित पर्यटकलाई भुलाउने मनोरञ्जन स्थल हुने हो भने केहि दिन पर्यटकलाई राख्ने सकिन्छ । यसका लागि सडक र भौतिक पूर्वाधारको विकासमा अझै कमी नै छ । पर्यटनलाई आवश्यक पर्ने सबै किसिमका पूर्वाधारको विकास गर्न आवश्यक रहेको छ ।
यसको प्रचुर फाइदा स्थानीय क्षेत्रले लिन सक्ने अवस्था बनिसकेको छैन । गोकर्णेश्वर नगरपालिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नाम चलेका पर्यटकीय गन्तव्यहरू एक दर्जनभन्दा बढी छन्।
खासगरी गोकर्णेश्वर नगरपालिका क्षेत्रमा पर्यटकीय सम्पदा धार्मिक, सांस्कृतिक, प्राकृतिक र मानव निर्मित छन् । धार्मिक सम्पदाअन्तर्गत बागमती नदी तथा यसको तटीय क्षेत्रमा रहेका मठमन्दिरहरू पर्छन् । प्राकृतिक सम्पदाअन्तर्गत शिवपुरी राष्ट्रिय निकुञ्ज, गोकर्णको जंगल, सुन्दरीजल झरना, गोकर्ण गल्छी तारेभिरलगायत पर्दछन् । मानव निर्मित सम्पदाअन्तर्गत धाप ड्याम, नागमति ड्याम, देशेगाउँ, जगडोलको सहिद पार्क, बीपी संग्रहालय रहेका छन् । त्यस्तै सुन्दरीजल पावर हाउसको पोखरी, सुन्दरीजल उद्यान र मेलम्ची खानेपानी प्रसोधन केन्द्रलगायत दृष्यावलोकन गर्न योग्य स्थलहरु हुन् ।
पालिकाको वडा नम्बर ३ मा रहेको अशुंवर्माकालिन राजविहार पर्यटनका लागि आकर्षक हुनसक्छ । यसलाई पनि प्रचार र प्रवद्र्धनको खाँचो छ ।
त्यस्तै धाप पोखरी शिवपुरीको उत्तरी भेगबाट धौलागिरिदेखि कञ्चनजंघासम्मको उच्च हिमालको सुन्दर दृश्य तथा दक्षिण पानीढलो धाप पोखरी र हिलेबाट काठमाडौं उपत्यकाको झिलिमिली देख्न सकिन्छ । शिवपुरी राष्ट्रिय निकुञ्ज उत्तर–पूर्व हेर्दा मुस्कुराइरहेका हिमालहरू नजिकैबाट देख्न सकिने मात्र होइन, सुन्दर र शान्तिको प्रतीकझै रहेको शिवपुरीको जंगलमा जतिखेर पनि आँखा ठोक्किनु तालको अर्काे विशेषता हो । धाप पोखरीभन्दा दुई किलोमिटर तल बन्ने भनिएको नागमतिको ड्याम अर्काे आकर्षक आन्तरिक पर्यटनका लागि गन्तव्य बन्न सक्ने देखिन्छ । पूर्वमा चिसापानीदेखि पश्चिममा ककनीसम्म फैलिएको राष्ट्रिय निकुञ्ज शिवपुरी जलाधार क्षेत्र रहेको छ ।
गोकर्णेश्वर मन्दिर नेपालको सबैभन्दा पुरानो मन्दिरको रुपमा लिईने गरिन्छ । गोकर्णेश्वरभन्दा पुरानो मन्दिर सम्भवतः नेपालमा अर्काे फेला पर्न नसकेको स्थानीय भनाई छ । भगवान ब्रह्माजी आफैले यहाँ पूजा–आजा गरेको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख छ । यो मन्दिरको शिवलिंगले पनि नेपालको सबैभन्दा जेठो भएको प्रमाणित गर्छ । भगवान पशुपतिनाथको मन्दिरभन्दा पनि कैयौं शताब्दी पुरानो गोकर्णेश्वर मन्दिर लामो समयसम्म ओझेलमा परेको थियो । तर पछिल्ला दिनमा यसको महिमा बढ्दै गएको छ । वरिपरिका पूर्वाधार बनाउने काम भइसकेको छ । भक्तजनहरूको भीड बढ्न थालेको छ । मन्दिरमा सुनको छाना लगाउनेलगायतका काम सम्पन्न भइसकेको छ ।
यहाँको अर्काे महत्वपूर्ण आकर्षण भनेको अनेक प्राचीन धार्मिक कलाकृतिहरूको सुन्दर संग्रह हो, जहाँ अन्यत्र नपाइने ब्रह्मा, चित्रगुप्त, अर्धनारीश्वरलगायतका देवी–देवताहरूका हजारौं वर्ष पुराना प्रतिमाहरू छन् । गोकर्णेश्वर मन्दिरको प्रांगणका अन्य सांस्कृतिक धरोहरहरूमा पार्वती, गदाधर नारायण मन्दिर र शिव महेश्वर बालभक्तेश्वर मन्दिर मुख्य हुन् । त्यस्तै, उत्तरबाहिनीस्थित कान्तिभैरव मन्दिर र पद्मभक्तेश्वर मन्दिर पनि त्यत्तिकै महत्वपूर्ण मानिन्छ । पशुपतिनाथको दर्शन गर्न आउनेहरू सबैले गोकर्णेश्वरको पनि दर्शन गर्ने परम्परालाई फेरि निरन्तरता दिन सक्ने हो भने यस क्षेत्रको अझ प्रवद्र्धन हुनसक्छ ।

बागमती नदी बागधारा (बागद्वार) हिन्दु धर्मशास्त्रमा गंगा नदीकै हाराहारीमा पवित्र मानिने बागमती नदीको उद्गमस्थल गोकर्णेश्वर नगरपालिकाभित्रै पर्दछ । हुन त बागद्वारदेखि गंगानदीसम्म मिसिनेक्रममा बागमतीले सयौं किलोमिटर यात्रा तय गरेको छ, तर सुन्दरीजल नजिकमा नागमति र स्यालमति खोलाहरू मिलेपछि दक्षिण बग्दै पहिले गोकर्ण वनको उत्तरी र पछि पश्चिम बग्न थाल्छ । यो नदी काठमाडौं र ललितपुरको सीमा नदी पनि हो ।
सुन्दरीजलदेखि गोकर्णेश्वर मन्दिरसम्मको छोटो दूरीमा बागमती नदी तीन ठाउँमा दक्षिणबाट उत्तर बगेको छ । जसलाई उत्तरगया भन्ने गरिन्छ । हिन्दुधर्मशास्त्रमा उत्तरगयाको ठूलो महत्व छ । उत्तरगयामा श्राद्ध गर्नाले पितृले मुक्ति पाउने र कर्तालाई ठूलो पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । पछिल्ला दिनमा गया श्राद्ध गर्नेहरूको ठूलै भीड लाग्ने गरेको छ । उत्तर बाहिनी क्षेत्रमा धार्मिक कार्यका लागि भीड बढेसँगै व्यवस्थापन पनि गर्दै लैजानु जरुरी छ । यसका लागि आवश्यक पूर्वाधार निर्माणको काम नगरपालिकाले तीव्र रूपमा अघि बढाएको छ ।
देशेगाउँ (गोकर्णेश्वर मन्दिरभन्दा थोरै पूर्वतर्फ एउटा ऐतिहासिक बस्ती छ । जसलाई देशे पनि भनिन्छ । पौराणिक ग्रन्थमा भेटिएअनुसार नेपालको सबैभन्दा पुरानो सहर हो देशेगाउँ । जसलाई पौराणिक ग्रन्थहरूमा ‘गोकर्णेश्वः देशे’ भनेर उल्लेख गरिएको छ । जसलाई हिजोआज पुरानो गोकर्ण गाउँका रूपमा चिन्ने गरिन्छ । तलेजु मन्दिर, प्राचीन चैत्य र पुरानो मुखुण्डो नाच देखाउने डबली त यहाँका सांस्कृतिक पहिचान नै हो । यहाँ लाग्ने भैरवी जात्रा निकै हेर्न लायक र साँस्कृती झल्कने जात्रा हो । यो निकै पुरानो जात्रा हो । यो जात्रा मातातिर्थ आंैशीदेखि ५ दिनसम्म चल्छ ।

लिच्छविकालमा नेपालको राजधानी यहीँ थियो भन्ने कतिपय पुरातत्वविद्हरूको मत छ, तर पुष्टि हुन भने सकेको छैन । यो स्थान लिच्छविकालको राजधानी हो वा होइन ? भन्ने एकीन प्रमाण नभए पनि यो गाउँ लिच्छिविकालीन हो भन्ने आधार पनि छ । राजधानी काठमाडौं उपत्यकाभित्रको सबैभन्दा पुरानो व्यवस्थित बस्ती भएको देशेगाउँ घुम्न पछिल्ला दिनमा पर्यटकको भीड बढ्न थालेको छ ।

यसैगरी, नेपालको दोस्रो पुरानो जलविद्युत आयोजनाको बाँध तथा पोखरी निकै मनमोहक छ । यो बाँध तथा पोखरीको दुई खाले महत्व छ । पहिलो त मनमोहक छ नै, दोस्रो हो, त्यतिबेलाको प्रविधि । एक हिसाबले जलविद्युतको संग्रहालय भने पनि हुन्छ । साथै, शिवपुरी राष्ट्रिय निकञ्जमा पदयात्रा गर्न यही क्षेत्र महत्वपूर्ण मानिन्छ । मूलखर्क, तारेभीरलगायतका क्षेत्रमा पदयात्राका लागि सुन्दरीजल नै उपयुक्त मानिन्छ । मूलखर्क तथा तारेभीरलगायतका क्षेत्रमा ग्रामीण पर्यटन फस्टाएको छ । तामाङ संस्कृति हेर्न आउने पर्यटकलाई लक्षित गर्दै यी गाउँहरूमा केहीले होमस्टे खोलेका छन् भने हरेका वर्ष तारेभीर, बागद्वार महोत्सव हँुदैै आएको छ ।
सुन्दरीजललाई शिवपुरी तथा नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको रूपमा पनि लिइन्छ । शिवपुरी राष्ट्रिय निकुञ्ज प्रवेशद्वारबाट १५–२० मिनेटपछि सुन्दरीमाईको मन्दिर पुग्न सकिन्छ । यस नदीमा ढुंगाबाट पानी कहिले लुक्दै त कहिले देखिँदै बगेको छ ।
सुन्दरीजलकोे विद्युतगृह नेपालको दोस्रो जलविद्युत आयोजना हो । बेलायत सरकारको सहयोगमा सन् १९३४ मा निमाण सम्पन्न भएदेखि नै यसले नियमित विद्युत उत्पादन गर्दै आएको छ ।
शहरको कोलाहल र प्रदूूषणबाट केही क्षणका लागि भए पनि मुक्ति पाउन र आनन्दको सास फेर्न सुन्दरीजल नजिकको गन्तव्य हो ।

पञ्चायत कालमा बीपी संग्रहालय दूरदर्शी राजनेता बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई योगेन्द्रमान शेरचनलगायतका नेताहरूलाई लामो समय जेल राखिएको स्थान हो सुन्दरीजलको विपि संग्रहालय । जो राजबन्दीगृहका नामले चिनिन्थ्यो, त्यो गृहलाई बीपी संग्रहालयका रूपमा विकास गरिएको छ । जनअधिकार प्राप्तिका लागि भएका संघर्षमा अग्रणी भूमिका निर्वाह गर्ने नेताहरूको सम्पूर्ण अभिलेख यहाँ राखिएको छ । साथै उनीहरूले प्रयोग गरेका सामग्री पनि राखिएको छ । सम्भवतः यो नेपालको एक मात्रै राजनीतिक संग्रहालय हो । राजनीतिप्रति चासो राख्ने हरेक व्यक्तिका लागि यो मक्कामदिना नै हो ।

सहिद पार्क गोकर्णेश्वर मन्दिर नजिकै रहेको यो पार्कलाई सहिद पार्क तथा निजामती कर्मचारी पार्कका नामले पनि चिनिन्छ । राजधानी काठमाडौं उपत्यकामा सम्भवतः प्राकृतिक रूपमा यति रमणीय सुन्दर पार्क अर्काे छैन । पार्कमा घुम्न जानेहरूको निकै घुइँचो लाग्न थालेको छ । पार्क क्षेत्रमा हेलिप्याडसमेत बनाइएको छ । यस्तै पर्यटकहरूका लागि सुविधासम्पन्न होटल पनि छन् । पार्क जाने बाटो पनि पक्की बनाइएको छ । खासगरी फिल्म सुटिङका स्थल पनि हो ।

गोकर्ण प्रकृति र संस्कृतिप्रेमीहरूको आकर्षण मात्र नभर्ई यो संसारभरका गल्फप्रेमी व्यक्तिका लागि आकर्षक गन्तव्यस्थल हो ।
नगरप्रमुख दिपक रिसालले समग्रमा गोकर्णेश्वरलाई नेपालको एउटा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको स्थलको रुपमा विकास गर्न तल्लिन भई लाग्नु भएको छ । यहाँ धार्मिक पर्यटक आउने गर्छन्, भने खेल पर्यटक, वातावरण पर्यटक, हाइकिङ पर्यटक, प्राकृतिक दृश्यमा रमाउने पर्यटक, पुरातात्विक सम्पदामा रमाउने पर्यटक, शैक्षिक भ्रमणमा रमाउने विद्यार्थीलगायत सबैका लागि एकै ठाउँमा यति धेरै सुविधा सायदै अन्त नभएको उहाँको दावी छ । पालीकाले गरेको विकाससंगै पर्यटक आवागमन वृद्धि निकै उत्साहजनक छ । यी पर्यटकहरूलाई कम्तीमा एक रात गोकर्णेश्वर क्षेत्रमै बस्ने प्रवन्ध मिलाउने हो भने मात्रै पनि कम्तीमा सयौं स्थानीयले रोजगारी पाउन सक्छन् ।
प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद अर्यालले गोकर्णेश्वर नगरपालिकालाई सबै किसिमका पूर्वाधारको विकास गर्दै सेवालाई चुस्त र सुशासन कायम राख्न पहल गर्नु भएको छ । त्यस्तै उहाँले संघ सरकार र प्रदेश सरकारसँग समन्वय गरि स्थानीय स्रोत साधनको उपयोग गर्दै समृद्ध पालिका बनाउन अथक प्रयास गर्दै आउनु भएको छ । यसको लागि जनप्रतिनिधि, प्रशासन र नागरिकबीच त्रिकोणत्मक समन्वयको खाँचोछ ।

( नगर प्रमुख दीपक कुमार रिसालसँगको कुराकानीमा आधारीत लेख )

प्रतिक्रिया दिनुहोस्