प्रतिनिधिसभा बैठक : कुन सांसदले के भने?
काठमाडौं, असार ११ । प्रतिनिधिसभा सदस्य दीपक गिरीले चट्याङबाट मृतक हुनेको परिवारलाई दश लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य गिरीले चट्याङबाट मृत्यु हुनेको परिवारलाई दश लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्।
उनले हाल जिल्ला प्रशासन कार्यालयमार्फत दुई लाख रुपैयाँ दिने गरिएको भन्दै सो रकम नाम मात्रैको भएको बताए। आफ्नो गृहजिल्ला दाङमा केहीदिन अघिच ट्याङबाट ३६ वर्षीय रामनारायण चौधरी र २६ वर्षीय समिर केसीको मृत्यु भएको भन्दै उनीहरुको परिवारलाई तुरुन्त राहत रकम उपलब्ध गराउन माग गरे।
प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सप्तरीमा बबिता ईश्वर र मनोज रामले कानुनी विवाह गरेको भएपनि केटीको उमेर घटाएर नक्कली जन्मदर्ता बनाइ केटालाई थुनिएको भन्दै दोषी उपर कारबाही गर्न माग गरे। उनले वडा अध्यक्षले फर्जी जन्मदर्ता बनाएकाले वडा अध्यक्षलाई समेत कारबाही गर्नुपर्ने बताए।
दलितहरु माथि अझै विभेद भइरहेको भन्दै सामाजिक चेतना दिने काम राजनीतिक दलहरुले पनि गर्नुपर्नेमा उनले जोड दिए। उनले भने,’–‘प्रेम गरेकै कारणले दलितहरु जेलमा जान्छन्। मारिन्छन्। सप्तरीको बबिता ईश्वर भन्ने केटीले २१ वर्ष पुगेतापनि मनोज राम भन्ने दलित केटासँग विवाह गरिन्। विवाह गरेर कपिलवस्तुको अदालतमा गएर जन्मदर्ता देखाएर दुवै जनाको उमेर २१/२१ वर्ष छ भनेर कपिलवस्तुको अदालतमा विवाह दर्ता भयो। तर केटीको बाबुलाई त्यो कुरा मन परेन। उनले वडा अध्यक्षलाई भनेर केटीको उमेर घटाएर। जन्मदर्ताको नयाँ नक्कली प्रमाणपत्र झिकेर केटीको उमेर घटाएर नाबालिग बनाएर केटालाई पनि जेलमा राखेको छ। केटाको दाजुलाई समेत अपहरणमा, शरिर बन्धकमा जेलमा राखेको छ। खालि प्रशासनको मात्रै होइन हामी राजनीतिक पार्टीहरुले कांग्रेस, एमाले, माओवादी जस्ता ठुला दलहरुले जनताका बिचमा सामाजिक चेतनाको काम गरेनौँ। समाजमा चेतनाको काम गरेनौँ र समाज रुपान्तरणको कुरा सरकार र प्रशासनमा मात्र भर पर्यौँ।
यस्तै, प्रतिनिधिसभा सदस्य सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमार्फत राख्ने सरकारको निर्णय खारेज गर्न सरकारसँग माग गरे। उनले सरकारले गरेको यस निर्णयले लोकतन्त्र र जनताको मताधिकारलाई अप्ठ्यारो पार्ने बताए।
उनले नयाँ राष्ट्रिय पार्टीहरुलाई राष्ट्रिय राजनीतिमा बन्देज लगाउने षड्यन्त्रपूर्वक यो निर्णय गरिएको बताए। उनले भने ,‘यो राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्था हो। यो व्यवस्थामाथि षड्यन्त्र गर्न पाइँदैन। स्वतन्त्र र संवैधानिक व्यवस्था भएको निर्वाचन आयोगलाई सरकारको सिडियो कार्यालयमार्फत राख्नु यो राजनीतिक कुचेष्टा हो। यसले लोकतन्त्रलाई बलियो बनाउँदैन भन्ने हाम्रो ठम्याइ छ।’
यसैगरी, प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाले डोल्पा जिल्लाको सेफोक्सुण्डो गाउँपालिका वडा नं. ३ र ४ मा रहेका दुईवटा गुम्बामा हतियारधारी समूहले गरगहना, नगद, मुर्ति र बहुमूल्य सामानहरु लुटेको भन्दै लुटेराहरुलाई नियन्त्रणमा लिइ कानूनी कारबाही गर्न माग गरे ।
प्रतिनिधि सभा सदस्य अब्दुल खानले प्रादेशिक पहिचानसहितको नेपाली नागरिकता दिन माग गरे। देश संघीय संरचनामा भएको उल्लेख गर्दै उनले प्रादेशिक पहिचानबिनाको नागरिकता अधुरो हुने बताए।
प्रतिक्रिया दिनुहोस्