प्रहरी जवान र हवल्दारले १६ वर्षमा नै अवकास पाउने
काठमाडौं, असार १० । प्रहरी जवान र हवल्दारले १६ वर्षमा नै अवकास पाउने भएका छन् । गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त प्रस्ताव तयार भएको बताएका छन् ।
प्रहरीमा ३० वर्षको सेवा अवधि हटाउने कानुनको मस्यौदा तयार भइसकेको श्रेष्ठले बताएका छन् । ‘३० वर्षको सेवा अवधि हटाउने सन्दर्भमा सर्वोच्च अदालतको आदेशअनुसार कानुनमा नै व्यवस्था गर्नुपर्ने भएकाले नयाँ कानुनको मस्यौदामा त्यसलाई प्रस्ताव गरिएको छ’ उनले थपे, ‘त्यो कानुन यही सदनमा आउनेछ ।’
श्रेष्ठले प्रहरी संगठनभित्र प्रहरी जवान, सहायक हवल्दार, हवल्दार, असई र सईको प्रोत्साहनको व्यवस्था राम्रो नभएको बताएका छन् । उनले एसएसपीबाट ९ महिनामा डीआईजी, एआईजी हुँदै आईजीपी भए पनि प्रहरी जवानदेखि सईसम्म पदोन्नतीको व्यवस्था राम्रो नभएको पनि बताए । श्रेष्ठका अनुसार जवान, हवल्दारहरु १९र१९ वर्ष एउटै पदमा रहिरहँदा पीडित भइरहेका छन् ।
यसलाई सम्बोधन गर्न तथा क्याडर ल्याडर प्याट्रन मिलाउन पनि जवान, हवल्दार र सहायक हवल्दारलाई १६ वर्ष तथा असई र सईलाई १८ वर्ष सेवा अवधि पुगेपछि रिटायरमेन्ट दिने प्रस्ताव गरिएको मन्त्रीको भनाइ छ । यसैगरी, २० वर्ष सेवा पुगेपछि पेन्सन दिने व्यवस्था लागू गर्न गृह मन्त्रालयले आफ्नो प्रस्ताव अन्य मन्त्रालयमा पठाइसकेको छ ।
श्रेष्ठले आन्तरिक बढुवा र खुला प्रतिस्पर्धामा लिने अनुपात मिलाउने विषयमा लोकसेवा आयोगसँग परामर्श भइरहेको पनि बताए।















प्रतिक्रिया दिनुहोस्