देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छः सांसद पौडेल
काठमाडौं, असार १० । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले आर्थिक अवस्था सुधारको विषयलाई सबैको साझाको विषय बनाएर अघि बढ्न जरुरी रहेको बताएका हुन्।
उनले आर्थिक प्रणालीलाई लयमा ल्याउनको निम्ति सत्तापक्ष र प्रतिपक्ष बाँडिने अवस्था देशमा नरहेको जिकिर गरे। देशको आर्थिक अवस्था सुधार गर्नको निमित्त सामुहिक रुपमा अघि बढ्ने एउटा साझा संकल्पको आवश्यकता देशमा रहेको उनको भनाइ छ।
सांसद पौडेलले बजेटमा भएका असन्तुष्टिलाई सम्बन्धित मन्त्रालयले सुन्न जरुरी रहेको बताए। उनले बजेटमा यो वर्ष आर्थिक वृद्धिदर २.१६ मा सिमित रहने उल्लेख गरिएको भन्दै यो विषय सत्तापक्ष र प्रतिपक्षको मात्रै नभइ देशकै विषय रहेको बताए।
उनले राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालयदेखि राज्यका साधारण खर्च नगर्दा पनि हुने प्रकृतिका ठाउँहरुको खर्चलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको बताए।















प्रतिक्रिया दिनुहोस्