सरकार परिवर्तनको खेल: देउवाको विश्वास खोज्दै ओली
काठमाडौं, असार १० । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने प्रयासमा लागेको छ । यसको संकेत कांग्रेस र एमालेका नेताहरुले गरेका छन् ।
नेताहरुका अनुसार साना दलहरुले संसदमा सरकारको विरोध गर्दा उनीहरुको समर्थन गरेर होस् वा संसद बाहिरबाट कांग्रेसको अन्तर्विरोधमा खेलेर होस एमालेले वर्तमान सरकार ढाल्ने प्रयास गरेको छ ।
नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु केही दिनमात्रै रहेको दाबी गर्छन । शुक्रबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको दाबी गरेका हुन् ।
‘सरकार अस्थिर, कमजोर बनेको छ । बजेटमार्फत देशलाई आर्थिक समस्या समाधान हुन्छ भन्ने सन्देश दिनसमेत सकेन । अब वर्तमान सरकारको विकल्प आवश्यक देखिएको छ’ उनले भने ।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले समेत सरकारको विकल्प खोज्ने क्रममा एमाले मुकदर्शक भएर नबस्ने बताएर सरकार परिवर्तनको खेलमा एमाले लागेको उद्घोष गरिसकेका छन् ।
शुक्रबार मात्रै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकार ढाल्न एमाले लागिपरेको भन्दै सार्वजनिक रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली यो खेलमा रहेको अभिव्यक्ति दिएका थिए । उनको त्यो अभिव्यक्ति र एमाले प्रचार विभागका प्रमुखको अभिव्यक्तिमा मेल खान्छ । ‘सरकार नलायक छ, जवाफदेहीविहीन छ, जनताले सरकारको महसुस नगरेपछि विकल्पमा जान सकिन्छ भन्ने छलफल स्वभाविक छ, सत्तारुढभित्र बजेट असन्तुष्टि छ । विकल्पमा जानुपर्ने जनतामा प्रश्न उठेको छ’ प्रचार विभाग प्रमुख गौतमले भनेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु नौलो कुरा नभएको बताउँछन् । शनिवार काठमाडौं ४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धनले चित्त बुझ्ने गरी काम नगरे फेर्न सकिने बताए ।
‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ’ उनले भने ।
एमाले र कांग्रेसका बीचमा समीकरण भएर सरकार बनाउने विषयमा दोस्रो र तेस्रो तहका नेताहरुले कुराकानी चुनावी परिणाम पछि नै गरेका थिए । तर, पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने अवस्था ठीक नभएको बिचार दुवै दलभित्र विकास भएका थिए ।
नेताहरुका अनुसार त्यसबेला प्रचण्डले आफूलाई पहिलो पटक प्रधानमन्त्री नबनाए गठबन्धन बदल्ने भनी शेरबहादुर देउवालाई चेतावनी दिएका थिए । उक्त चेतावनीको विषय देउवाले एमाले अध्यक्ष ओली समक्ष पु¥याए । ओलीले देउवालाई प्रधानमन्त्री बनाउने बचन दिएका थिए । ओलीलाई विश्वास गरेर देउवाले प्रचण्डलाई प्रधानमन्त्री नछोड्ने बताएपछि बाहिरिएका प्रचण्डलाई ओलीले गत पुस १० गते प्रधानमन्त्रीमा समर्थन गरेका थिए । छोटो समयमै फेरि एमाले र कांग्रेसका नेताहरुका बीचमा दुई दल मिलेर सरकार बनाउने प्रयास सम्बन्धी छलफल चलेको भएपनि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाका बीचमा सरकार बनाएर अगाडि जाने हदसम्मको विश्वासको अवस्था बनिसकेको छैन् । वर्तमान गठबन्धनबाटै देउवा अर्को वर्ष प्रधानमन्त्री हुने भएकाले पनि गठबन्धन फेरिरहनुपर्ने बाध्यता रहेको वा नरहेको विषयमा मिहिन ढंगले छलफल हुनुपर्ने मत कांग्रेसभित्रै समेत रहेको नेताहरु बताउँछन् । -मध्यान्हबाट
प्रतिक्रिया दिनुहोस्