गोकर्णेश्वर नगरपालिकाले ल्यायो १ अर्ब ७६ करोडको बजेट
काठमाण्डौ । गोकर्णेश्वर नगरपालिकाले ११औं नगर सभामार्फत आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बजेट सार्वजनिक गरेकोछ । पालिकाले १ अर्ब ७६ करोड रकम बराबरको बजेट ल्याएकोछ ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार सबै स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था अनुसार नगरपालिकाले शनिबार आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बजेट सार्वजनिक गरेको हो ।
कार्यक्रममा नगर प्रमुख दिपक कुमार रिसालले आव २०८०/०८१ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरको दिगो र सन्तुलित विकासका लागि ठोस कार्यक्रम अगाडि बढाएको बताए ।
नगर प्रमुख रिसालले मुख्य ७ वटा बिषयगत क्षेत्रहरुमा आगामी नीति तथा कार्यक्रममा बजेट प्राथमिकताका साथ अगाडी बढाएको उल्लेख गरे । उनले गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूत गर्ने, सिपमुलक कार्यक्रमहरु मार्फत नागरिकलाई स्वरोजगार र आत्मनिर्भर बनाउने, आधुनिक प्रविधिको माध्यामबाट फोहोरमैला वर्गीकरण र व्यबस्थापन गर्ने, प्राविधिक, व्यवसायिक गुणस्तरीय शिक्षामा जोड, स्थानिय कृषि उत्पादन र उत्पादकत्वको वृद्धि गरि आय आर्जन गर्ने र रोजगारीका क्षेत्र सृजन गर्ने, जनमैत्री सेवा प्रवाह गर्ने, सुशासनमा र दिगो विकास लक्ष्य हासिल गर्ने, वातावरण संरक्षण र बिपद ब्यबस्थापनलगायतका कार्यहरुमा बिशेष जोड दिएको बताए ।
नगर प्रमुख रिसालले नीति तथा कार्यक्रममा स्थानीइ ऐन र प्रस्तावना, मौलिक हक, राज्यका निर्देश सिद्धान्त र नीतिहरु स्थानीय आर्थिक कार्य प्रणाली एवं एकल तथा साझा अधिकार सूची, स्थानिय सरकार संचालन ऐन २०७४ ले ब्यबस्था गरेका स्थानीय सरकारका काम कर्तब्य अधिकार र दायित्व, संघिय सरकार र प्रादेशिक सरकारले अबलम्बन गरेका नीति, आर्थिक तथा बित्तीय नीति, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा जनाएका प्रतिबद्धता र सन्धि सम्झौ नगरपालिकाको क्षेत्रगत र नीतिगत बिषयका आधारमा नीति तथा कार्यक्रम ल्याईएको जानकारी दिए ।
त्यस्तै प्रमुख रिसालले नगर अन्तर्गतका ९ वटै वडा भित्रका क्षेत्रगत आधारमा स्वास्थ्य ,शिक्षा युवा तथा खेलकुद, कृषि तथा पशु बिकास ,फोहोर मैला ब्यबस्थापन, वन वातावरण तथा बिपद ब्यबस्थापन, धर्म/संस्कृति कला र साहित्य संरक्षण, पर्यटन प्रवद्र्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, उधोग सहकारी र रोजगारी सहरी बिकास तथा पुर्वाधार, सूचना तथा सञ्चार प्रविधि,सुशासन, योजना तथा कार्यक्रम व्यबस्थापन, दिगो वित्त व्यबस्थापन कानुन तथा मानव अधिकार न्याय सम्बन्धी कार्यक्रमहरु बुँदागत रुपमा स्पष्ट रुपमा समेटीएको उनले बताए ।
कार्यक्रमलाई सांसद सन्तोस चालिसेले देशको आर्थिक अवस्था धरासयी हुँदै गएको यो कठिन अवस्थामा सम्पुर्ण नागरिकहरु गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए । नगरपालिकाले कृषि पकेट क्षेत्र घोषणा गर्दै लाखौ अनुदान दिइएको बताउँदै सांसद चालिसेले संसदमा पनि नगरपालिकाको बारेमा कुरा राख्दै आएको अवगत गराए । उनले संसद कुस्ती खेल्ने ठाउँ नभई नीति निर्माण गर्ने ठाउँ भएकोले नगर र क्षेत्रको विकास समेत आफ्नो पूर्ण रुपमा ध्यान गएको उल्लेख गरे । सांसद चालिसेले विकास निमार्णका सवालमा कुनै पार्टी दल गुट नभई सम्पूर्ण नगरबासी मिलेर अगाडि बढ्न आग्रह गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मनोज ढुंगाना, राप्रपा नगर कमिटीका अनिल पराजुलीले विभिन्न नगरपालकिाको विकासका लागि गर्नुपर्ने सुझावसमेत दिएका थिए। नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष मान बहादुर तामाङ, नेपाली कांग्रेसका नगर अध्यक्ष कुमार लामा, प्रदेश सांसद बिमल ठकुरी, छिरिङ दोर्जे लामा पूर्वमन्त्री रामेश्वर फुयाल,पूर्व सांसद कृष्ण राई लगायतले यो आर्थिक वर्षको नीति तथा कार्यक्रमले यस नगरपालिकाको समग्र विकासका जोडदिएको बताए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम तर्जुमा गर्दा नगरका सबै जनप्रतिनिधि तथा नागरिकको सहकार्य रहेको उल्लेख गर्दै पालिकाले दिगोविकासको लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याएको उल्लेख गरे ।
कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नगरकमिटिका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।
नगर प्रशासन शाखा प्रमुख भुपेन्द्र बोहराद्वारा सहजीकरण गरिएको कार्यक्रममा नगर उप प्रमुख सान्नानी लामाले स्वागत मन्तव्य राखेकी थिइन भने कार्यक्रमका प्रमुख अतिथी सांसद चालिसेद्धारा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्